पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा नाबालिग युवतीसँगको भनिएको निजी सन्देश (च्याट) सार्वजनिक भएपछि विवादमा तानिएका गायक सुजन चापागाईंले पहिलो पटक औपचारिक धारणा सार्वजनिक गरेका छन्। अस्ट्रेलियामा आफ्नो ब्यान्ड ‘सुजन चापागाईं एन्ड द इन्फिनिटी’को सांगीतिक भ्रमणमा रहेका उनले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा घटनाप्रति गम्भीर चिन्ता र दुःख व्यक्त गर्दै प्रभावित सबैसँग क्षमायाचना गरेका छन्।
चापागाईंले विगतमा आफूसँग निकट सम्बन्धमा रहेका तथा आफूले चिनेका केही व्यक्तिसँग निजी सन्देश आदानप्रदान गरेको कुरा स्वीकार गरेका छन्। तर सामाजिक सञ्जालमा सार्वजनिक भएका सबै सामग्रीको सत्यताप्रति भने आफू अनभिज्ञ रहेको उनको दाबी छ। उनले आफ्नो सामाजिक सञ्जाल आफूले मात्र सञ्चालन नगरेको उल्लेख गर्दै विभिन्न समयमा सामाजिक सञ्जाल व्यवस्थापकमार्फत पनि सञ्चालन हुँदै आएको र सोही अवधिमा आफ्नो खाताको दुरुपयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन्। साथै, आफ्नो नाममा सञ्चालन भइरहेका धेरै नक्कली (फेक) सामाजिक सञ्जाल खाताबारे समेत जानकारी प्राप्त भएको उल्लेख गर्दै यस विषयमा आवश्यक कानुनी प्रक्रिया सुरु गरिसकेको र अस्ट्रेलियाको सांगीतिक यात्रा सकेर नेपाल फर्किएपछि थप कानुनी उपचारको प्रक्रिया अघि बढाउने बताएका छन्।
वक्तव्यमा उनले आफ्ना दर्शक, परिवार, आफन्त तथा शुभेच्छुकसँग क्षमायाचना गर्दै आगामी दिनमा सामाजिक सञ्जालको प्रयोगमा अझ जिम्मेवार र सचेत बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूलाई विश्वास र माया गर्ने सबैको विश्वास जोगाउने प्रयास गर्ने पनि बताएका छन्।
यस प्रकरणबीच, पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा गायक सुजन चापागाईंको नाम जोडेर विभिन्न निजी सन्देशका स्क्रिनसट सार्वजनिक भएपछि व्यापक चर्चा र विवाद उत्पन्न भएको थियो। यद्यपि, सार्वजनिक भएका सामग्रीको प्रामाणिकता तथा आरोपहरूको स्वतन्त्र पुष्टि हालसम्म भएको छैन भने घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रियाको नतिजा आउन बाँकी छ।