पिसाबले च्यापेपछि म आफ्नै घरको माथिल्लो तलाको बाथरुमभित्र छिर्छु र कमोड अगाडि उभिन्छु। यतिकैमा अचानक बाथरुमको ढोका तोडेर डोनाल्ड ट्रम्प भित्र आइदिन्छ र बौलाहा जसरी मेरो कमोडलाई बन्द गरिदिई त्यसै माथि बसिदिन्छ। डोनाल्ड त्यो बेला Adult Diaper मात्रै बेरेर बाँकी शरीर नाङ्गै आएको हुन्छ। दुवै हात बाँधेर, मुन्टो तलतिर झारेर अनि मुन्टो अनावश्यक यताउता हल्लाएर डोनाल्ड मेरो कमोडमाथि कब्जा जमाएर, मेरो प्रायवेसीलाई हनन गरेर बसिराखेको हुन्छ। मैले प्रतिवाद गर्ने मनसायले उसतिर अघि बढेर उसलाई प्रश्न गर्न के तम्सेको थिएँ, उसले मतिर जुरुक्क टाउको उठाएर, सुङ्गुरको मुखजस्तो तल्लो ओठ अगाडि तानेर, पागल खुनीझैँ आँखाहरु तर्काएर र तन्काएर हेर्छ। मलाई लाग्छ म जीवनमा यति विवश कहिल्यै भएको थिइनँ। मेरो स्वाधिनता यसरी कहिल्यै लुटिएको थिएन। चाहेको भए कम्तिमा पनि उसलाई बेइज्जती गर्नैभएपनि, उसलाई आफू काँतर हैन भनी पुष्टि गर्नैभएपनि, केहि नभएपनि उसका आँखाहरु लुछेर फोडिदिने थिएँ। म कायर त हैन, तर म बेवकूफ पनि हैन। मेरो एक गल्तीले त्यसले मेरो घरमा के के सम्म विध्वंस मच्चाइदिने हो भन्ठानेर मैले चुपचाप त्यो विष — नीलो मुख पारी आफ्नो थुक सँगै निलेँ। म चुपचाप फर्किएँ। पछाडि उ मलाई सुनाउँदै, कराउँदै थियो —
“I can do anything. I can change everything. I have world’s greatest Political Power.”
* * * * *
डोनाल्ड घरको माथिल्लो तलामा कब्जा जमाएर बसेपछि हामी तल्लो तलामा चिन्तित र व्यथित बसिराखेका हुन्छौँ। हाम्रो चिन्ता एउटै थियो — माथिल्लो तलालाई आफ्नो उपनिवेश बनाएको डोनाल्डले तल्लो तलालाई पनि कब्जा गरेर कतै यो घरमा आफ्नो तानाशाही आधिपत्य स्थापित नगरिदियोस्।
विरामी दाइले नियमित औषधि खानुपर्छ। उसले कुर्सीमा अस्वस्थ बसिरहेका बेला मलाई भित्र कोठाबाट औषधि लिइआउन भन्छ। म वरण्डाबाट कोठाभित्र छिर्छु। ढोका भित्र छिर्न नपाउँदै मेरा आँखै अगाडि त्यो कोठा गायब हुन्छ र त्यसको साटो माथिल्लो तलाको कोठाले त्यसको ठाउँ ओगट्छ। दाइको औषधि भएको कोठा विस्थापित भएर माथि गैसकेपछि मैले माथि हेर्छु र माथि गई, चुपचाप औषधि लिइआउन मिल्छ कि भनी सोचेर घुस्ने बाटो खोज्छु। त्यही बखतमा माथिल्लो तलाबाट मुन्तिर मतिर हेर्दै, आफ्नो Presidential Dress up मा डोनाल्ड मलाई गिज्याउँदै कराई कराई भन्छ —
“I can do anything. I can change everything. I have world’s greatest technology.”
* * * * *
यसरी त सारा घर र घर हुँदै सारा गाउँ नै हातबाट आँखै अगाडि अर्काको भैजाने खौफले चिन्तनशील वर्ग चिन्तित हुन थाल्यो। पहिलो पल्ट प्रत्येक घरबाट — पूजाकोठाबाट आफ्नो भगवानको माला छाडेर हजुरबुबाहजुरआमा, लाइब्रेरीबाट मार्क्सको कम्युनिष्ट मेनिफेस्टो छाडेर बुबा, मस्क र जेफ बेजोजको पडकास्ट र पेङुइनको रील्स छोडेर ठिटाठिटिहरु — गाउँको पिपलको रुख मुन्तिर भेला भए। समस्याको गम्भीरताको आँकलन भैसकेका तर निकासको एउटै समाधानको निर्क्योल गर्न नसकेका सबै पुस्तालाई त्यस दिन अनुभूति भयो — आर्थिक, राजनैतिक, मानवशास्त्रीय, सामाजिक, प्राविधिक, दार्शनिक — सबै किसिमका ज्ञानमा सबै पोख्त भएपनि यस्तो विषम परिस्थितिमा शक्तिसन्तुलन बनाइराखी कसरी छद्म उपनिवेशबाट मुक्त हुने भन्ने कुरामा भने निकै अन्योलता देखियो।
“आजसम्म हामी नीति, विधान, मूल्य, मान्यता, आचार, संहिता, नियममा केन्द्रित रह्यौँ। तर आज सबैतिर नीति, विधान र नियमको अपहेलना भएका बेला, मूल्य, मान्यतामा सुखा परेको बेला, आचारसंहिताको एउटै त्यान्द्रो धागो पनि चुट्टिएर गएको बेला — के गर्ने? केही बाटो देखिदैन।”
कुनै युक्ति नजुरेपछि बुबाहरुको पुस्ताबाट एउटा बुबा बोल्छन् — “यस्तो बेला हामी मन्दिर र गुफामा समाधिस्त भई ध्यान गरि हिँड्ने हाम्रा सन्न्यासी कहाँ जानु उचित हुन्छ। सायद उहाँबाटै केही युक्ति मिल्छ कि?”
सबैको सहमतिमा सबैजना त्यसपछि मन्दिरको गुफातिरै लाग्छन्।
* * * * *
सन्न्यासी तिनिहरुका अगाडि ध्यानस्थित भएकनै उपदेश दिन लाग्छन् —
“हरेका तानाशाहले आफूलाई सिंह सम्झन्छ। तर उ वास्तवमा बोका हुन्छ।”
“उसँग सबै चिज परिवर्तन गर्ने ताकत छ। तिमीहरुसँग एकजुट भए हरेक परिवर्तनलाई रोक्ने क्षमता छ। म तिमीहरुलाई एउटा मन्त्र दिन्छु जुन जप्यो भने कुनै एक चिज कहिल्यै परिवर्तन नहुने गरि यथावत् रहनेछ। तर याद राख — यो एक चोटि मात्र प्रयोग गर्न सकिनेछ। र अर्को अझ महत्वपूर्ण कुरा — यो त्यतिबेला मात्र काम गर्नेछ जब अधिकांशहरुले एकजुट भई एकै स्वरमा यो मन्त्र जप गर्नेछन्।”
सन्न्यासीले यति भनिसकेपछि सबैको कानमा एक एक गरि मन्त्र भने र भनिसकेपछि चिम्ली लोचन दीर्घकाल तपमा पुनः डुब्दा भए।
सबैजना त्यहीँ बसेर निकै बेर सल्लाह गरे र एउटा उपाय निकालेर त्यहाँबाट निस्किए।
* * * * *
हप्ता दिनपछि डोनाल्ड गाउँको चहुरतिर टहलिरहेको देखियो। उसका पछाडि उसलाई पछ्याइरहेका त्यस गाउँका अवसरवादीहरु पनि देखिन्थे। डोनाल्डका साथमा गफिएर हिँडिरहेको सेहेबाज सरिफ पनि थियो। डोनाल्ड त्यहाँ पुगेपछि हाँसीखेलिरहेका, खितखिताइरहेका बच्चाबच्चीहरु चुपचाप भए। सेहेबाज सरिफले भन्यो —
“जसरी तपाईँले यी चिङ्गाडिरहने फुच्चाफुच्चीहरुलाई चुप्प लगाइदिनुभयो, तपाईँलाई त शान्तिका लागि नोबेल पुरस्कार दिइनुपर्ने हो। म नोबेल प्राइज कमिटिमा तपाईँलाई मनोनीत गर्नेछु।”
“हो! म नोबेल पुरस्कारको लागि सबैभन्दा योग्य छु। बाराक ओबामालाई यस्सै नोबेल प्राइजका लागि मनोनीत गरियो जबकि उसले केही गरेको थिएन।”
यतिञ्जेल हिँड्दा डोनाल्ड र सरिफ निकै पर पुगिसकेका थिए। पिपलको रुख मुन्तिर टन्नै गाउँले झुम्मिएका थिए। त्यो के हो भनी बुझ्न पठाएपछि ट्रम्पलाई सूचना भयो कि त्यो भारतको केरलाबाट आएर कुम्मतीले जादु देखाउँदै रैछ।
“कुम्मतीले आफ्नो जादुले मान्छेलाई उसको Spirit Animal मा बदलिदिने रैछ।”
डोनाल्ड त्यस भिँडतिर गयो र डोनाल्ड आएपछि सबैजनाको ध्यान उसतिर गयो। डोनाल्डले यसपाली पनि गिज्याउँदै भन्यो —
“हँ!! आँखाको धोका!! Stupid People!!”
डोनाल्डको यस प्रतिक्रियामा एकजनाले जवाफ फर्कायो —
“कम्तिमा यस्तो चिज त छ जुन डोनाल्डले गर्न सक्तैन।”
यसमा सबैजना हाँस्न थाले। डोनाल्ड निकै ठूलो स्वरमा चिच्याएर फेरि भन्न थाल्यो —
“I can do anything. I can change everything. I have the world’s greatest Biological Weapon.”
एक छिन सप्पैजना शान्त भए र अलि अलि भयभीत भएजस्तो पनि। त्यो देखेर डोनाल्डलाई खुब मजा आयो। हाँसेर उसले भन्यो –
“यो आँखाको धोका हैन — म साँच्चै नै यो करामत पनि देखाइदिन सक्छु। जो सुकैलाई पनि उसको Spirit Animal मा बदलिदिन सक्छु — यो Serum ले।”
भनेर डोनाल्डले त्यो Serum झिक्यो। एकजनालाई जबर्जस्ती गरि अगाडि ल्याउन लगायो।
“यो त निकै डरपोक मान्छे हो। यो के बन्ला त?”
भनेर एकजनाले अर्काको कानमा खुसुरफुसुर गर्यो। डोनाल्डले उसको ढाडमा सुइ हान्दिएपछि उ मुसामा परिणत भयो। डोनाल्ड खुब मुस्कायो। डोनाल्डले अर्को मान्छे पनि पकड्यो। उ कुकुरमा परिणत भयो।
सरिफले सोध्यो —
“यो Serum सि जिङ्पिङलाई हान्यो भने त्यो के बन्ला, Mr. President?”
“उ विरालो बन्छ। अरुको दूध चोरेर खाएर उसले आफ्ना बच्चाहरु पाल्छ। अमेरिकाको टेक्नोलोजी चोरेर उ धनी भाछ।”
अनि निकै हाँस्यो। सरिफ पनि बेतोड हाँस्यो। अनि फेरि सोध्यो —
“पुटिनलाई एक इन्जेक्सन दियो भने?”
“उ भालु हो। Big Bear. आफ्नो Territory सुरक्षित पार्ने Bear.”
सरिफले आफ्ना बङ्गाराहरू देखाएर फेरि सोध्यो —
“अनि त्यो चाहिँ के बन्छ होला? त्यो मेरो छिमेकको चायवाला?”
“त्यो बाँदर बन्छ। आफ्नो क्षमताभन्दा बढी महत्वाकांक्षा राख्ने त्यो च्यापिएर मर्छ।”
सरिफ पेट मिचिमिची हाँस्यो। भिँड मध्य एकजनाले ठूलो स्वरमा सोध्यो —
“सबै मुसा, कुकुर, बिरालो, बाँदर, भालु हुनेभए सिंह चाहिँ को?”
“Stupid People of Himalayan — यति पनि थाहा छैन? सिंह त्यै हो who can do anything and who can change everything.”
भनेर डोनाल्डले खुद आफूलाई सिंह भएको बतायो। सरिफ लगायत डोनाल्डका आसेपासेहरुले हुटिङ गरे। कसैले “My President” र कसैले “Long Live America” भने। एकजनाले माइक निकालेर सोध्यो —
“तर बाहिर त सबैले तपाईँलाई स्याल भन्छन् नि?”
डोनाल्ड आँखा तरेर, फेरि सुङ्गुरको जस्तो ओठ बनाएर बोल्यो —
“You are CNN. You are fake. They give fake news. However, I’ll answer your question. Your superstitious texts glorify Krishna — the ghee stealer — like the President Xi Jinping, the sneaky Cat. But I will let you poor people see my Lion Avatar. And I dare say the next day you will all be worshipping me.”
यति भनिसक्ने बित्तिकै डोनाल्डले त्यो injection आफ्नो पाखुरामा लगाउँछ। तर उ सिंहको सट्टा बोकामा परिणत हुन्छ — सिङ उम्रेको बोकामा। ठिक त्यही घडिमा त्यहाँ एकत्रित भएका गाउँलेहरुले सन्न्यासीले दिएको मन्त्र एकसाथ जप गर्छन्। डोनाल्डलाई फेरि मान्छे बनाउने सुइ हान्दा भने डोनाल्ड फेरि मान्छेमा परिणत हुँदैन।
डोनाल्डलाई बोकाकै हालमा छाडेर सबैजना फर्किन लाग्छन्। बोका कराउन थाल्छ। त्यहाँ रहेका उसका विदेशी कुटनैतिक साथीहरु, राजदुतहरु र उसका आसेपासेहरु सबैजना एकसुरले अचम्भित भै उभिराखेका हुन्छन्। बोका धेरै कराउन थालेपछी एक जनाले सोध्छन्, “यसलाई भोक लागेछ कि? घाँस हालिदिन पर्छ होला।”
तत्पश्चात् अघि सम्म मित्र कहिएकाहरु मध्य एक जनाले भन्छ-
“अब यो बोकालाई घाँस हालेर हामीलाई केही फाइदा छैन।” र यति भनेपछी सबै त्यहाँबाट निस्किइ जान्छन्