नेपालको राजनीतिक इतिहासमै पहिलोपल्ट एउटा पनि हिंसात्मक घटनाबिना शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ।
निकै ठूलो अनिश्चय र असहजताका बीच प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक मूल्य मान्यता, सुशासन, अहिंसा र संविधानवादको मर्ममा रहेर यो निर्वाचन सफलतापूर्वक सम्पन्न गरी मुलुकलाई नयाँ निकास दिएका छन्।
यो निर्वाचन कसरी शान्तिपूर्ण र हिंसारहित हुन सक्यो? ऐतिहासिक रुपमा सम्पन्न भएको शान्तिपूर्ण निर्वाचनको सूत्र के हो त?
गृहमन्त्री ओमप्रकाश अर्यालको भनाइ यसप्रकार छ–
यो चुनावले मानवता जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ । यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो। अब हामीले चुनाव गरेका छौँ र निष्पक्ष चुनाव गरेका छौँ।
यो सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा थियो। अरु बेलाको भन्दा गुणस्तरीय चुनाव गरेका छौँ। सुदृढ चुनाव गरेका छौँ। सबैलाई थाहा छ, यसपालि एक थोपा रगत नखसिकन चुनाव सम्पन्न गर्न सकेका छौँ।
हाम्रो सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपो खसेको छैन। त्यो प्रत्याभूति हामीले दियौँ। चुनावको क्रममा पनि हिंसात्मक झडपहरू हुन पाएनन्, एकाधबाहेक। हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर त्यसलाई काबुभित्र राखेर चुनाव गरायौँ। मतदान गरायौँ।
पहिलापहिला धेरै ठाउँमा स्थगन हुन्थ्यो र फेरि चुनाव गराउनुपर्थ्यो। तर, यसपालि देशभरि एकैचोटि मतदान सम्पन्न भएको छ। स्थगन गर्नुपरेको अवस्था पनि छैन।
यसरी हामीले राजनीतिक सुशासनका मानकहरू बढाउनैपर्छ। यी मानकहरुलाई सुदृढ गर्नुपर्छ। ताकि भविष्यमा आउने सरकारहरूले ती मानकहरू भत्काउन नसकून्, ती मानक घटाउन नसकून् भन्ने तहको लक्ष्य र अपेक्षा राखेर हामीले काम गरेका हौँ।