ऋषि धमलाको नाममा ६५ लाख बक्यौता, समाज कल्याण परिषद्को १५ दिने अल्टिमेटम

काठमाडौं । ऋषि धमलाको नाममा ६५ लाख रुपैयाँ बक्यौता रहेको भन्दै समाज कल्याण परिषद्ले सार्वजनिक सूचना जारी गरेको छ। परिषद्ले शनिबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम चुक्ता गर्न निर्देशन दिएको हो।

हाल रौतहटमा चुनावी प्रचारप्रसारमा व्यस्त रहेका धमलाको रिपोर्टर्स क्लबको नाम उक्त बक्यौता सूचीमा समावेश गरिएको छ।

परिषद्का अनुसार परिषद् अन्तर्गतको भृकुटीमण्डप परिसरमा रहेका पसल, कबल, स्टल, भवन तथा अन्य संरचना एवं जग्गा जमिन भाडामा लिई विगतमा व्यवसाय, कार्यालय तथा मेला सञ्चालन गरेका व्यक्ति तथा संघसंस्थाहरूले बुझाउनुपर्ने रकम नबुझाउँदा बक्यौता कायम भएको हो।

परिषद्ले पटक–पटक पत्राचार, निर्देशन तथा सूचना प्रकाशित गरी बक्यौता बुझाउन अनुरोध गरिएको भए पनि अटेरी गरिएकाले मिति २०८२ फागुन ४ गतेको परिषद् निर्णयअनुसार सार्वजनिक सूचना जारी गरिएको जनाएको छ। सूचनामा तोकिएको १५ दिनभित्र बक्यौता रकम बुझाई हिसाब मिलान गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

निर्धारित समयावधिभित्र रकम नबुझाएमा असुली प्रक्रियाका लागि कानुनी कारबाही अगाडि बढाइने परिषद्ले स्पष्ट पारेको छ।

यस विषयमा धमलाको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।