प्रधानमन्त्री सुशीला कार्कीका तर्फबाट बधाइ सन्देश बोकेर परराष्ट्र मन्त्री बालानन्द शर्मा बंगलादेश जाँदै छन् ।

प्रधानमन्त्री कार्कीको पत्र बोकेर शर्मा बंगलादेश नेसनालिस्ट पार्टीका नेता तरिक रहमानले त्यहाँको प्रधानमन्त्रीका रुपमा लिन लागेको शपथग्रहण समारोहमा सहभागी हुन लागेका हुन् ।

प्रधानमन्त्री कार्कीले बंगलादेश सरकार र त्यहाँका जनतालाई १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले बंगलादेश नेसनालिस्ट पार्टी र यसका नेता तरिक रहमानलाई यस विजयको नेतृत्व गरेकोमा विशेष बधाई दिनुभएको छ।

सन्देशमा प्रधानमन्त्री कार्कीले नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य विस्तार गर्न नजिकबाट काम गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

दक्षिण एसियाली मुलुक बंगलादेशमा पछिल्लो समय राजनीतिक अस्थिरता र युवा विद्रोहको पृष्ठभूमिमा निर्वाचन सम्पन्न भएको हो। अन्तरिम रूपमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा बनेको सरकार देशमा बढ्दो राजनीतिक तनाव र सडक प्रदर्शनपछि गठन गरिएको थियो। विभिन्न दल र नागरिक समूहहरूले निष्पक्ष निर्वाचन, सुशासन र संस्थागत सुधारको माग गर्दै आन्दोलन चर्काएका थिए।

सम्पन्न संसदीय निर्वाचनलाई देशको लोकतान्त्रिक प्रक्रियालाई पुनःस्थापित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। राजनीतिक ध्रुवीकरण र केही हिंसात्मक घटनाबीच बंगलादेशमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण मानिएको थियो।

रहमानले १७ फेब्रुअरी (फेब्रुअरी) मा बंगलादेशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन् । उनको शपथग्रहण समारोहमा शेख हसिनालाई आश्रय दिइरहेको छिमेकी भारतसहित १३ देशलाई निम्ता गरिएको छ ।

उनको शपथ समारोह परम्परागत रूपमा राष्ट्रपति भवनमा नभई ढाकास्थित राष्ट्रिय संसद् भवन परिसरको साउथ प्लाजामा आयोजना गरिने भएको छ ।

ढाकाले यस समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न १३ देशका नेताहरूलाई निमन्त्रणा पठाएको छ ।

सञ्चार माध्यमहरुका अनुसार, बंगलादेशले अधिकांश सार्क सदस्य देशका नेताहरूलाई आमन्त्रण गर्ने निश्चित भएको थियो । बंगलादेशले निमन्त्रणा पठाएका १३ देशमा चीन, भारत, मलेसिया, साउदी अरेबिया, टर्की, पाकिस्तान, युएइ, कतार, ब्रुनाइ, श्रीलंका, नेपाल, माल्दिभ्स र भुटान रहेका छन् । नेपालका तर्फबाट प्रधानमन्त्री कार्की जान नभ्याउने भएपछि उनले परराष्ट्रमन्त्री शर्मालाई पठाएकी हुन् ।

आम निर्वाचनमा जित हासिल गरेपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिंदै रहमानले सार्कलाई पुनः सक्रिय बनाउन आफूले पहल गर्ने बताएका छन् ।