सुन्दरहरैँचा। मोरङको सुनदरहरैँचा नगरपालिका ८ सलकपुरस्थित शिल्पी नाट्य केन्द्रकाे विधिवत् उद्घाटन गरिएको छ।

नयाँ नाटक ‘छुटेका सपना’ को औपचारिक मञ्चनसँगै साे नाट्य केन्द्र सञ्चालनमा आएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र परिकल्पनाकार तथा नाट्य निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाटकको उद्घाटन गरेका थिए । शिल्पी नाट्य केन्द्रले बनाएको याे ठाउँलाई अब भुल्के एम्पि थिएटरकाे रूपमा विकास गरेर कला र संस्कृतिको मन्दिरका रूपमा लगिने बताईएकाे छ । उद्घाटनसँगै मञ्चन गरिएको नाटक हेर्न दर्शक खचाखच उपस्थित भएका थिए।

नाटकले समाजमा विद्यमान राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रका विकृतिलाई व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति तथा गरिबीका कारण किसानले भोग्नुपरेको दुःखलाई कलाकारहरूले जीवन्त रूपमा मञ्चमा उतारेका थिए।

नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बि.सि र उत्सव काकीँ लगायत कलाकारहरूको अभिनय गरेका थिए ।

कार्यक्रममा कवि कुमार नगरकोटीले एउटा सुन्दर कविता प्रस्तुत गरेका थिए । निर्देशक घिमिरेले याे नाट्य केन्द्रलाई आफ्नो सपनाको सुरुवातका रूपमा लिएको बताए । आफू जन्मेको ठाउँलाई नै राम्रो नाट्य गन्तव्य बनाउने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ। सकारात्मक सन्देश दिने उद्देश्यसहित आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भनेर एम्पि थिएटर निर्माण गरिएको उनले बताए ।
थिएटर कुनै व्यापारिक उद्देश्यभन्दा बाहिर रहेर समाजलाई चेतना दिने अभियानका रूपमा अघि बढाइने घिमिरेले स्पष्ट पारे । प्रत्येक दुई/दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको पनि उनले जानकारी दिए ।