विवादास्पद टिप्पणी गरेर चर्चामा आइरहने युवराज सफल (पौडेल) लाई प्रहरीले पक्राउ गरी साइबर अपराधमा अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, सामाजिक सञ्जालमा मिथ्या लाञ्छना फैलाएको आरोपमा आज उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालबाट तथ्यहीन र भ्रमपूर्ण आरोप लगाएको विषयमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई आजै अदालतमा उपस्थित गराएको थियो ।

अदालतले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले यही माघ ८ गते नै पौडेलमाथि अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेको थियो । पौडेलविरुद्ध विद्युतीय अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ ।