नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित सात प्रभावशाली नेतामाथि कारबाही गरेको छ।
पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बन्नेहरुको प्रचारक बनेको आरोपमा ती नेताहरुलाई पार्टीबाट निष्काशन गरेको नेकपाले विज्ञप्तिमार्फत जनाएको छ।
निष्काशित हुनेमा हरिबोल गजुरेल, सिन्धुली, महेश्वर दाहाल, सिन्धुली, कुलप्रसाद केसी, दाङ, मेजर राई, उदयपुर, धर्मनाथ साह, सिरहा, राजकुमारी साह, सिरहा र जिवछ साह, सिरहा छन्।
पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरुलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको जानकारी गराइन्छ ।’