बालआधिकारका क्षेत्रमा विभिन्न गैरसरकारी संस्थासंग आवद्ध काम गरिरहेका ३० वर्षीय बिभत्सु थापा धनकुटाबाट राप्रपाका प्रतिनीधिसभा उम्मेदवार हुन्। सेन्ट जेभिएर कलेज माईतीघरबाट सामाजिक कार्यमा स्नातक थापा पूर्व यू-१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्यसमेत हुन्। साथै उनको फिट राइट नामक पारिवारिक जुत्ता व्यवसाय पनि सञ्चालनमा छ।
राजनीतिक पृष्ठभूमि केलाउँदा राष्ट्रिय राजनीतिमा चतुर खेलाडी, पञ्चायत र बहुदल गरी पाँचपटकका प्रधानमन्त्री, ०३८ र ०४३ को पञ्चायती संसदीय चुनाव र २०५१ को मध्यावधि चुनावमा विजित सूर्य बहादुर थापा नाताले उनका जिजूबुवा पर्छन्। चुनावी प्रचारमा सूर्य ब. थापाको तस्बिर प्रयोग गर्दै आएका उनले सूर्यबहादुरको विरासत दुरुपयोगको आरोपको खण्डन गर्दै, कांग्रेस-एमालेले विपी-पुष्पलालको जस्तै आफूहरुले पनि संस्थापक अध्यक्षको प्रतीकात्मक रूपमा मात्र प्रयोग गरेको स्पष्ट पारे।
यसअघि ०७४ र ०७९ को निर्वाचनमा धनकुटाबाट विजित एमालेका राजेन्द्र कुमार राईविरुद्ध प्रतिपदधारिताको मौकालाई उपयोग गर्ने दाउमा रहेका थापा आफू जनताले भोगिरहेका दैनन्दिनका पानी, शिक्षा, स्वास्थ्य र सडकको स्तरोन्नतिमा लगायतका केन्द्रित रहने जानकारी गराए। धनकुटा एभोकाडोको राजधानी भनेर चिनिएको भएतापनि उचित बजारमूल्य सुनिश्चित नभएको हालको अवस्थालाई आफ्नो व्यावसायिक अनुभवको प्रयोग गर्दै व्यवस्थित बजारिकरण गर्ने र धनकुटाकै लघु उद्योगलाई प्रवर्द्धन गर्दै उच्च रहेको पलायन दरलाई न्यूनीकरण गर्ने उनको योजना छ।
यसपटक पुन दोहोरिने राजेन्द्र कुमार राईलगायत कांग्रेसका दिनेश राई, रास्वपाका दिनेश भण्डारी र स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ प्रतिद्वन्द्वी भएकाले यसपटकको धनकुटाको चुनाव थापाका लागि चुनौतीपूर्ण हुनुका साथै समग्रमा पेचिलो र प्रतिस्पर्धात्मक हुने देखिन्छ।