विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव संगीता कौशल मिश्रासँग ५ लाख धरौटी मागेको छ ।
स्वास्थ्य उपकरण खरिदमा अनियमिततासम्बन्धी मुद्दामा विशेष अदालतले बुधबार मिश्राविरुद्ध ५ लाख धरौटी मागेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ कात्तिक २०८२ मा मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा बुधबार हाजिर हुन पुगेकी मिश्रासँग न्यायाधीशहरु नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश गरेको हो।
अख्तियारले डा.मिश्रासहित व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रकुमार चौरसिया र विभागका निर्देशक डा. विवेकुमार लालविरुद्ध मुद्दा चलाएको थियो । उक्त मुद्दामा तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत शम्भूप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इन्जिनियर पद्मा मिश्र, विभागका केन्द्रीय स्टोर पथलैया बाराका जनस्वास्थ्य निरीक्षक सन्जयकुमार शाह र आपूर्ति कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिका प्रमुख सुन्दर भुसाललाई पनि प्रतिवादी बनाइएको थियो ।
उनीहरूका नाममा जनही १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँका दरले बिगो कायम गरिएको थियो ।
मिश्रा पछिल्लोपटक सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा झण्डै स्वास्थ्यमन्त्री नै बनेकी थिइन्। उनीविरुद्ध अख्तियारले मुद्दा चलाउने तयारी गरेको सूचना आएपछि प्रधानमन्त्री कार्कीले नियुक्ति रोकेकी थिइन्।