प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
यही फागुन २१ गते हुने निर्वाचनका लागि उनले रास्वापा भरतपुर महानगर सभापति सीता ज्ञवालीमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीका अनुसार रविले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।
रविको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी छन्।
सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सा रहेका कारण आउन ढिला भएपछि वारेसनामामार्फत उम्मेदवारी दर्ता गरिएको रविले फेसबुकमा उल्लेख गरेका छन्। यससँगै चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट मीना खरेल, नेकपा एमालेबाट अश्विन घिमिरे र नेपाली कम्युनिस्ट पार्टीबाट प्रताप गुरुङले उम्मेदवारी दर्ता गराए।
क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन्। तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन्।