नेपालमा राजनीति भन्नासाथ या त मारकाट सम्झिन्छौँ, या भाषण सुनेर निदाउने बानी परिसक्यो। तर यसपालिको चुनावमा दृश्य फरक बन्दै गएको छ।
एकातिर नेपाली कांग्रेसका सभापति गगन थापा टाइ लगाउने, तथ्यांकका अनेकौँ परिकार फ्याक्ने, संसदलाई क्लासरुम बनाइदिने नेता।
अर्कोतिर काठमाडौँका मेयर बालेन्द्र (बालेन) साह हुडी लगाउने, एक्स्काभेटर बोलाउने, फेसबुक स्टाटसले सिंहदरबार हल्लाइदिने पात्र।
यी दुवैलाई अब भन्न थालिएको छ- यिनै त हुन् भावी प्रधानमन्त्री!
अब मलाई हेर्ने धोको छ- यिनै दुई जनाबीच लाइभ पब्लिक डिबेट। बरु त्यो लाइभ र्याप ब्याटल नहोस्। त्यो चुनावी ब्याटल होस्।
हातमा माइक लिएर “यो सिस्टम फेल हो” भन्दै तुकबन्दी गर्ने कार्यक्रम त युट्युबमा धेरै भइसक्यो। अब देश यसरी चलाउँछु भन्ने प्रतिस्पर्धा चाहिएको छ।
गगन थापा राजनीतिका ‘टपर छात्र’ जस्ता लाग्छन्। नोट्स तयार, सिलेबस कभर, प्रश्न आए तुरुन्त उत्तर।
उनीसँग स्वास्थ्य, शिक्षा, सुशासन सबै विषयमा थ्योरी तयार छ। समस्या के भने, उनी पढाउने क्लासमा पुरानो हेडमास्टर अझै कुर्सी नछोडी बसेको छ। यद्यपि उनले विशेष महाधिवेशनबाट उनले शेरबहादुर देउवालगायत बूढा नेता र पुरानो गिरोहतन्त्रमाथि वैधानिक कु गरिदिए। तब न गगन।
अब गगनको चुनौती एउटै छ कि उनी सिस्टमभित्र कति बदल्न सक्छ?
उता बालेन साह राजनीतिमा ‘ड्रपआउट जिनियस’ जस्ता छन्। सर्टिफिकेट कम, कन्फिडेन्स हाई। फोहोर देख्यो भने भाषण होइन, डोजर। फाइल अड्कियो भने कमिटी होइन, स्टाटस। जनतालाई यही त मन परेको हो- बालेन बोल्दैन, सिधै एक्सनमा जान्छ।
तर प्रश्न पनि छ- देश चलाउने कुरा एक्स्काभेटरले मात्र सम्भव छ त? भावनाले त चुनाव जितिन्छ तर बजेट, कूटनीति र प्रशासन भावनाले चल्दैन।
यहीँ आएर गगन–बालेन लाइभ ब्याटल अनिवार्य हुन्छ।
एउटाले सोधोस्- तिमी भावनामा बगेर निर्णय गर्छौ कि दीर्घकालीन योजनाको तयारी छ?
अर्कोतिरबाट प्रश्न जाओस्- तिमी थ्योरी धेरै, डेलिभरी कहिले?
हामी जनता रेफ्री छँदै छौँ।
यो बहसले नेताहरूको फेसबुक फ्यानडम होइन, प्रधानमन्त्री बन्ने योग्यता मापन गर्नेछ।
कसले आलोचना पचाउन सक्छ? कसले रिसबिना जवाफ दिन सक्छ? कसले ‘म जान्दिन, सिक्छु’ भन्न सक्छ? यही हो लिडरसिप टेस्ट।
अन्ततः गगन थापा प्रधानमन्त्री बनून् वा बालेन साह, त्यो भविष्यले निर्णय गर्ने कुरा हो।
तर अहिले जनताको माग सरल छ- हामीलाई भाषण होइन, बहस चाहियो। पोस्ट होइन, पोलिसी चाहियो। बहाना होइन, नतिजा चाहियो।