काठमाडौँ। नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २–३ गते काठमाडौँको कार्की बैंक्वेटमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव तथा सङ्कल्प पारित गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यद्वारा जारी प्रेस वक्तव्यमा जनाइएको छ।
भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने र आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा तथा लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने सङ्कल्प गरेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नाराका साथ भएको भेलामा देशभर र प्रवासबाट ३ हजार ४१४ जना प्रतिनिधिको सहभागिता रहेको थियो। भेलामा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव र सङ्कल्प प्रस्तुत गर्नुभएको थियो।
भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ बारे मार्गनिर्देशन दिँदै पार्टीले बेहोरेको धक्का चुनावी परिणामबाट मात्र नभई सरकार अपदस्त गरिएदेखि सुरु भएको बताउनुभयो। लोकतन्त्रको वापसीका लागि जनता पुनर्जागरणको नेतृत्व एमालेले गर्ने उल्लेख गर्दै उहाँले भदौ २३ र २४ को घटना तथा घेराबन्दी बुझेर प्रतिबद्धतासहित जनतामाझ जान अगुवा कार्यकर्तालाई निर्देशन दिनुभयो। यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्कल्प गर्ने, उपाध्यक्ष विष्णु पौडेलले एमालेले गरेका महत्वपूर्ण कार्य र महासचिव शंकर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचनको तयारीबारे सम्बोधन गर्नुभएको थियो।
पारित २१ बुँदे प्रस्तावमा पार्टीका दिवंगत नेता–कार्यकर्ता तथा विभिन्न विपत्ति र दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइते तथा बिरामीको स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, सरकारले मौलिक अधिकार हनन, संवैधानिक संस्थाको मानमर्दन, मिडिया र व्यवसायीमाथि हस्तक्षेप तथा संविधान र सङ्घीयतामाथि प्रहार गरिरहेको आरोप लगाउँदै त्यसको भर्त्सना र विरोध गरिएको छ। महङ्गी नियन्त्रण, घरायशी बिजुलीको कर फिर्ता तथा भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग गरिएको छ।
त्यसैगरी, प्रधानमन्त्रीको आसन्न भारत भ्रमण नेपालको राष्ट्रिय हित, सार्वभौम समानता र पारस्परिक लाभमा केन्द्रित हुनुपर्ने तथा सीमा समस्या, असमान सन्धि, इपिजी प्रतिवेदन र व्यापार घाटाजस्ता विषयमा मार्गचित्र तय गर्न ध्यानाकर्षण गराइएको छ। २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीले पुर्याएको जनधन र पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै भेलाले पीडितको दिगो पुनर्स्थापना, राहत कोषको सदुपयोग र जलवायु न्यायका लागि आवाज उठाउने प्रस्ताव पारित गरेको छ।
अन्तर्राष्ट्रिय सन्दर्भमा भेलाले प्यालेस्टाइन, इरान, क्युबा, भेनेज्वेला, लेबनान र युक्रेनमाथिको बाह्य हस्तक्षेप तथा आक्रमणको निन्दा गर्दै चीनको शेन्जेनमा भइरहेको चीन, अमेरिका र रुसका राष्ट्रपतिहरूको त्रिपक्षीय बैठक आणविक हतियारको प्रतिस्पर्धा र विश्व तनाव न्यूनीकरणमा सहायक सिद्ध होस् भन्ने कामना गरेको छ। साथै, खाडी क्षेत्रमा जारी तनावका कारण त्यहाँ कार्यरत करिब २० लाख नेपाली श्रमिकको सुरक्षा र रोजगारीप्रति सचेत रहन सरकारको ध्यानाकर्षण गराउँदै प्रवासी नेपालीका मताधिकार, नागरिकता र लगानीका सरोकार सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।