आज हामी दुई तिहाई नजिक बहुमत सहित सत्तामा छौँ तर हामीमा दम्भ छैन। हाल हाम्रो सबैभन्दा ठूलो प्रतिपक्षि रहेको नेपाली कांग्रेसको महाधिवेशनलाई हामीले नजिकबाट हेरिरहेकाछौँ। सुभेक्षा सहित।
आज संघिय संसदमा सङ्ख्या सानो होला तर नेपालको लोकतान्त्रिक ईतिहासमा नेपाली काँग्रेसको योगदान अग्लो छ। त्यसैले विगतका गल्तीहरुलाई सच्याउँदै, राजनीतिक व्यवहारमा सुध्रदै, नेतृत्व संस्कारममा “सु” थप्दै, अझ पारदर्शी, जवाफदेहि, जनमुखि, सुसंस्कृत र लोकतान्त्रिक दलको रुपमा नेपाली काँग्रेसले आफूलाई पुनर्निर्माण गरोस्। हामी सुधारिएको काँग्रेस हेर्न चाहन्छौँ। शब्द र दस्ताबेजमा मात्र होईन। व्यवहारमै।
हो, हामी बलियो काँग्रेस देख्न चाहन्छौँ।
प्रतिस्पर्धी बलियो हुनु हाम्रो लागी डरको विषय होइन। बरु लोकतन्त्रमा बल थप्ने विषय हो। हाम्रो विशेष शुभेच्छा छ; यस महाधिवेशनबाट असल, ईमान्दार, क्षमतावान, जनउत्तरदायी व्यक्तिहरु नेतृत्वमा निर्वाचित होऊन्। युवापङ्ति तथा जेन्जीले सङ्ख्यामा होईन निर्णयमा सार्थक सहभागिता पाउन। महिला नेतृहरुलाई समावेशिताको लागी मात्र होईन परिवर्तनको नेतृत्वको लागि अघि बढाईयोस्।
हामी नेपाली कांग्रेसलाई कमजोर प्रतिस्पर्धीका रूपमा होइन, सक्षम, ईमान्दार र विचारमा मात्र नभई व्यवहारमै नैतिकवान र बलियो प्रतिस्पर्धीका रुपमा देख्न चाहन्छौँ। किनकि, जब असल, इमानदार र सक्षम व्यक्तिहरू बीच प्रतिस्पर्धा हुन्छ, तब दल विशेषको “हार जित” गौण भईदिन्छ। जो निर्वाचित भएपपनि समाज र राष्ट्रले सहि नेतृत्व पाउने सम्भावना हावि हुन्छ। र हामी त्यस्तै समाज निर्माण गर्न खोजिरहेकाछौँ।
नेपाली काँग्रेस हाम्रो लागी केवल एक राजनितिक दलको नाम होईन, नेपालको लोकतान्त्रिक ईतिहासको महत्वपूर्ण हिस्सा हो। बी.पी. कोइरालासहितका अग्रज नेताहरूले जहानियाँ राणा शासनको कठिन समयदेखि प्रजातन्त्रका लागि गरेको संघर्ष, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूको योगदान र सिङ्गो कांग्रेसले विभिन्न राजनीतिक परिवर्तनमा खेलेको भूमिकालाई केवल चुनावी परिणाम वा सत्तामा व्यतित समयको हिसाबले मात्र मूल्यांकन गरिनु विल्कुल अवमुल्यन हुन्छ।
नियमित १४औँ महाधिवेशनपछि जेनजी पुस्ताको क्रान्तिले बदलिएको विशेष परिस्थितिमा गगनकुमार थापाको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनले लोकतान्त्रिक पार्टीभित्र विधि र विधानको सर्वोच्चताको एउटा महत्वपूर्ण नजिर स्थापित गरेको थियो। त्यही नेतृत्वले पाएको जिम्मेवारीलाई निरन्तरता दिँदै कांग्रेस १५औँ महाधिवेशनमा प्रवेश गरेको छ। त्यसैले यो महाधिवेशन केवल नेतृत्व चयनको साँघुरो घेरामा सीमित नभई समयसापेक्षिक विचार, युगान्तकारी संगठन र राजनीतिक संस्कारलाई पुनर्सुदृढ गर्ने अवसर बनोस्।
जसरी टंकप्रसाद आचार्यहरूले प्रजातन्त्रको सपना देख्नुभयो र बी.पी. कोइराला, गणेशमान सिंहहरूले त्यसलाई आन्दोलनमार्फत सार्थक बनाउनुभयो, त्यसैगरी नयाँ पुस्तामा नयाँ राजनीतिक सोचको आवश्यकता महसुस गर्दै स्व. उज्ज्वल थापाले सुरु गर्नुभएको विवेकशील अभियानले राजनीतिक यथास्थितिलाई प्रश्न गर्ने नयाँ अध्याय खोल्यो र समाजको राजनितिक DNA मै सुक्ष्म शल्यक्रियाको सुरुवात गर्यो। त्यसैको निरन्तरतास्वरुप सभापति रवि लामिछानेको नेतृत्वमा “निलोक्रान्ति”को आव्हान गर्दै मतक्रान्तिको माग सहित उदाएको राष्ट्रिय सवतन्त्र पार्टी मार्फत वैकल्पिक राजनीतिले आजको युवा पुस्तालाई समेट्दै मुलधारको बागडोर सम्हालिरहेको छ।
आज नेपालले केवल सत्ता परिवर्तन होइन, राजनितीक संस्कारमा सुधार खोजिरहेको छ। सरकार र प्रतिपक्षबीच प्रतिस्पर्धा स्वाभाविक हो, तर राष्ट्रिय हितका विषयमा सहकार्य अपरिहार्य छ। कांग्रेसलाई मेरो शुभकामना – बलियो प्रतिपक्ष बन्नुहोस्, सरकारलाई प्रश्न गर्नुहोस्, गल्ती औँल्याउनुहोस्, तर देशका सही काममा साथ पनि बलियो दिनुहोस्। युवालाई देशमै भविष्यको वातावरण, रोजगारी सृजना, अर्थतन्त्र उकास्न, सार्वजनिक संस्थाहरुको सुदृढीकरणका, शिक्षा-स्वास्थ्य सुधार, लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्योनयन जस्ता विषयहरुमा तपाईहरुबाट रचनात्मक सुझाब र सहकार्यको अपेक्षा गर्दछौँ।
हामी प्रतिस्पर्धाको धराताल स्वस्थ र फराकिलो भएको हेर्न चाहन्छौं। प्रतिस्पर्धा विचारमा होस्, नीतिमा होस्, क्षमतामा होस्, इमानदारीमा होस् र जनताका लागि परिणाम दिने काममा होस्। नेपाली कांग्रेस अझ बलियो बनोस्। असल नेतृत्व जन्माओस् र हामीलाई अझ कठिन तर स्वस्थ प्रतिस्पर्धा गर्न बाध्य बनाओस्।
एउटा पार्टीको उन्नतिले अर्को पार्टीलाई पनि अझ राम्रो बन्न प्रेरित गर्छ नै। त्यसैले यो महाधिवेशन महत्वपूर्ण छ। हामी चाहन्छौँ सुधारिएको बलीयो काँग्रेसले भावि निर्वाचनहरुमा असल, अब्बल व्यक्तिहरु हामीसँग प्रतिस्पर्धामा पठाओस् ताकी विजयी जो भएपनि त्यो प्रतिस्पर्धाको नतिजाले कुनै एक दलको होईन, समाजको जित लेखोस्। राष्ट्रको जित लेखोस्।
राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा जति स्वस्थ र स्तरीय हुँदै जान्छ, त्यति नै राजनितीले क्रमशः “फोहोरी” उपनामको उकुसमुकुसबाट उम्किएर स्वस्थ, र स्वच्छताको स्वास् फेर्ने मौका पाउँछ। नैतिकरुपमा विश्वस्तरमै कलङकित भएको नेपाली राजनितीलाई “सुसंकृत” पहिचान सम्म पुर्याउने दायित्व हामी लोकतान्त्रिक भनिएका राजनितिक दलहरुको साझा हो।