काठमाडौँ। मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा सङ्गठित अपराध प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ अनुमति लिएको छ। काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि अर्याल हालसम्म फरार रहेको र उनको खोजी भइरहेको ब्युरोले जनाएको छ।
सीआईबीका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तत्कालीन सचिव रहँदा नेपाल र मलेसिया सरकारबीचको समझदारी विपरीत गैरकानुनी रूपमा रकम पठाउने निर्णय प्रक्रियामा अर्यालको संलग्नता रहेको आरोप छ। वैदेशिक रोजगारीमा जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको यो प्रकरणमा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल करिब १ अर्ब ६९ करोड रुपैयाँ बराबरको अवैध कारोबार भएको सीआईबीको दाबी छ।
अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ नपरेको र खोजी कार्य जारी रहेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताएका छन्।
यसै प्रकरणमा प्रहरीले बुधबार दुई पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, पूर्वसचिव विनोद केसी, पूर्वसहसचिवद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा पूर्वउपसचिव निर्मला गुरुङ गरी ६ जना उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गरिसकेको छ।