काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रियतासँगै नेपाल–भारत विद्युत् व्यापारमा थप सहजीकरण भएको छ। मन्त्री श्रेष्ठ र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबिच मङ्गलबार शिष्टाचार भेटवार्ता भएको केही समयमै भारतले नेपाललाई विद्युत् आयात तथा निर्यातसम्बन्धी नयाँ अनुमति प्रदान गरेको हो।

​भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई हिउँदयामको आन्तरिक माग व्यवस्थापन गर्न ३५० मेगावाटसम्म विद्युत् आयात गर्न तथा तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित थप ५६ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो। मङ्गलबार (नोभेम्बर १७) देखि लागू भएको यो अनुमति आगामी साउन १५ गते (जुलाई ३१, २०२७) सम्म कायम रहनेछ।

​अनुमतिअनुसार नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् खरिद गर्न सक्नेछ। यद्यपि, उच्च माग हुने समय (पिक आवर) अर्थात् बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको अवधिबाहेक अन्य समयमा मात्र विद्युत् आयात गर्न पाइनेछ।

​आयातका लागि स्वीकृत ३५० मेगावाटमध्ये कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यु नौतनवा–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट विद्युत् नेपाल भित्र्याइनेछ। हालै रसुवाको भोटेकोशी बाढीले जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुर्‍याउँदा करिब ४३१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएकाले हिउँदयामको माग धान्न भारतबाट आयात अनिवार्य बनेको छ।

​यसैगरी, नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित थप ५६ मेगावाट विद्युत् पनि आगामी साउन १५ गतेसम्म भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्ने अनुमति पाएको छ। यसअघि मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबिच द्विपक्षीय विद्युत् व्यापार विस्तार, अन्तरदेशीय प्रसारण पूर्वाधारको क्षमता वृद्धि, सौर्य ऊर्जा विकास तथा विद्युत् निर्यातमा सहजीकरण गर्ने विषयमा विस्तृत छलफल भएको थियो।