गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आफ्नो गैरराजनीतिक पहिचान र संस्थागत स्वायत्तता जोगाउन पदाधिकारी तथा सदस्यहरूलाई राजनीतिक आबद्धता त्याग गर्न सात दिनको समयसीमा सहितको औपचारिक परिपत्र (सर्कुलर) जारी गरेको छ। संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२५–२०२७ कार्यकाल) का महासचिव डा. चिरञ्जीवी खड्काले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्दै तत्काल लागू हुने गरी उक्त संस्थागत परिपत्र जारी गरेका हुन्।
महासचिव खड्काद्वारा जारी परिपत्रअनुसार संघका कुनै पनि पदाधिकारी वा सदस्यले राजनीतिक उद्देश्य भएका संस्था वा सङ्गठनमा पदाधिकारी वा कार्यकारी सदस्यको पद धारण गर्न पाउने छैनन्। हाल त्यस्ता राजनीतिक संस्थामा आबद्ध रहेकाहरूले परिपत्र प्राप्त भएको मितिले सात दिनभित्र पद वा सदस्यता त्याग गरी सोको आधिकारिक प्रमाणसहित संघको सचिवालयमा लिखित जानकारी उपलब्ध गराउन निर्देशन दिइएको छ।
संघको विधान, २००३ (२०२६ को संशोधनसहित) को प्रस्तावनाले संघलाई गैरराजनीतिक संस्थाका रूपमा स्थापित गरेको भए पनि केही पदाधिकारी तथा सदस्यहरू राजनीतिक सङ्गठनमा निर्वाचित, मनोनीत वा चयन भएको भन्दै उजुरी र गुनासाहरू प्राप्त भएका थिए। सोही विषयमा गत असोज १८ र १९ गते (अक्टोबर ४–५, २०२६) सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा विस्तृत छलफल भई विधानमा निहित मूलभूत मान्यताहरूको संरक्षण सुनिश्चित गर्ने निर्णय भएको थियो।
उक्त परिपत्र सामान्य निर्देशन मात्र नभई ११७औँ बैठकको निर्णय कार्यान्वयनका लागि जारी गरिएको औपचारिक संस्थागत आदेश भएको महासचिव खड्काले स्पष्ट पारेका छन्। तोकिएको सात दिनको अवधिभित्र राजनीतिक पद वा सदस्यता त्याग गरेको प्रमाणसहितको जानकारी प्राप्त नभएमा वा छानबिनबाट विधानविपरीत कार्य भएको देखिएमा संघको विधान तथा प्रचलित कानुनबमोजिम आवश्यक छानबिन र कारबाहीको प्रक्रिया अगाडि बढाइने परिपत्रमा उल्लेख छ।