काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आगामी भारत भ्रमण दुई दिन (करिब २५ घण्टा) को हुने भएको छ। परराष्ट्र मन्त्रालय तथा उच्च सरकारी स्रोतका अनुसार भ्रमणको औपचारिक घोषणा र अन्तिम कार्यतालिका सार्वजनिक हुन बाँकी रहे पनि मङ्सिर ६ र ७ गते (नोभेम्बर २२ र २३) का लागि प्रारम्भिक कार्यतालिका तयार पारिएको छ।
प्रस्तावित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह मङ्सिर ६ गते दिउँसो १:२५ बजे (वा १:४० बजे) नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन्। दिल्ली बसाइका क्रममा उनी ताजमहल होटलमा बस्नेछन्। भ्रमणको दोस्रो दिन मङ्सिर ७ गते बिहान उनले नेपाल र भारतका उद्योगी तथा व्यवसायीहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै (वान–अन–वान) भेटवार्ता र द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। औपचारिक कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह सोही दिन अपराह्न ४:२० बजे (वा ४:४० बजे) नेपाल वायुसेवा निगमकै नियमित उडानमार्फत काठमाडौँ फर्कनेछन्।
प्रधानमन्त्री शाहको नेतृत्वमा दिल्ली जाने नेपाली प्रतिनिधिमण्डलमा चार जना मन्त्री तथा उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन्। टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र पर्यटनमन्त्री खड्कराज (गणेश) पौडेल रहनेछन्। भ्रमणको पूर्वतयारीका लागि पर्यटनमन्त्री पौडेल त्यसअघि नै दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा भोटेकोसी तथा रसुवा बाढीपछिको पुनर्निर्माण र पूर्वाधार विकासका लागि भारतसँग अनुदान तथा सहुलियतपूर्ण ऋण प्याकेजका विषयमा मुख्य छलफल हुनेछ। यसैगरी, भैरहवा विमानस्थलका लागि महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने तथा भारतले मागेको बागडोग्रा र रक्सौल विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न दिने विषयमासमेत वार्ता भइरहेको छ।
त्यसैगरी, महाकाली तेस्रो सिँचाइ आयोजनाका लागि टनकपुर बाँधबाट पानी छोड्ने सहमति तथा जलविद्युत् निर्यातका विषयमा पनि द्विपक्षीय छलफल हुनेछ। भ्रमणका अवसरमा जनकपुर–अयोध्या सिधा रेल सेवा, पनौतीस्थित नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलाको पुल र भैरहवाको एकीकृत जाँच चौकी (आइसिपी) को संयुक्त उद्घाटन गर्ने तयारी गरिएको छ। अन्तिम समयसम्म कार्यतालिकामा केही हेरफेर हुन सक्ने परराष्ट्र स्रोतले जनाएको छ।