न्युयोर्क (अमेरिका)। जेपीमोर्गन चेजको प्रणालीमा देखिएको प्राविधिक सफ्टवेयर बगका कारण सोमबार (नोभेम्बर १६, २०२६) अमेरिकाका प्रमुख बैङ्कहरूको अनलाइन सेवा तथा भुक्तानी प्रणालीमा व्यापक अवरोध सिर्जना भएको छ। प्राविधिक समस्या समाधान भएसँगै हाल प्रभावित सबै वित्तीय संस्थाहरूको सेवा सामान्य अवस्थामा फर्किसकेको छ।
जेपीमोर्गन चेजले आफ्नो अन–प्रिमिस हार्डवेयर प्रणालीमा देखिएको अस्थायी सफ्टवेयर बगका कारण उक्त अवरोध उत्पन्न भएको पुष्टि गरेको छ। बैङ्क तथा अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (डिएचएस) का अधिकारीहरूले घटनामा कुनै पनि किसिमको साइबर आक्रमण वा प्रणालीगत सञ्जाल विफलताको प्रमाण नभेटिएको स्पष्ट पारेका छन्।
जेपीमोर्गन चेजले दैनिक ठुलो परिमाणमा अन्तरबैङ्क कारोबार प्रशोधन गर्ने भएकाले यसको प्रणाली सुस्त हुँदा चेज खातासँग जोडिएका रकम पठाउने वा प्राप्त गर्ने अन्य बैङ्कका ग्राहकहरूसमेत प्रभावित भएका थिए।
अवरोधका क्रममा जेपीमोर्गन चेजका ग्राहकहरूले लगइन समस्या, खाताको मौज्दात नदेखिने, वायर ट्रान्सफरमा ढिलाइ हुने र शाखामा चेक जम्मा गर्न कठिन हुने जस्ता समस्या भोगेका थिए। यसैगरी, भुक्तानी सेवा ‘जेल’ मार्फत रकम कारोबार गर्न खोज्ने प्रयोगकर्ताहरूले त्रुटि सन्देश (इरर मेसेज) पाएका थिए। यद्यपि, जेलले आफ्नो सञ्जाल सामान्य रूपमै सञ्चालनमा रहेको र सहभागी बैङ्कहरूको प्रणालीका कारण मात्र ढिलाइ भएको स्पष्ट पारेको छ।
यसबाहेक बैङ्क अफ अमेरिका, वेल्स फार्गो, युएस बैङ्क, क्यापिटल वन र ट्रुइस्टका ग्राहकहरूले पनि सेवा अवरुद्ध भएको गुनासो गरेका थिए। ती बैङ्कहरूले आफ्नो आन्तरिक प्रणाली सुरक्षित रहेको र अन्तरबैङ्क कारोबारमा मात्र समस्या देखिएको जनाएका छन्।
सोमबार साँझ जेपीमोर्गन चेजले उक्त सफ्टवेयर बग समाधान गरी नियमित सेवा सुचारु गरेको घोषणा गरेको छ। सेवा अवरोध मापन गर्ने प्लेटफर्म ‘डाउनडिटेक्टर’ का अनुसार मङ्गलबार बिहानसम्म समस्यासम्बन्धी रिपोर्टहरू सामान्य स्तरमा झरिसकेका छन्।