​काठमाडौँ। विदेश भ्रमणको औचित्य र पारदर्शितामाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। कोप सम्मेलन तथा अन्य विदेश भ्रमणमा जाने टोली र राज्यको स्रोत परिचालनको विषयलाई लिएर पार्टीकै सांसदहरू टीका सङ्ग्रौला (ज्वाला), गणेश कार्की, आशिका तामाङ र राजू पाण्डेले असन्तुष्टि जनाएका हुन्।

​सांसद टीका सङ्ग्रौला (ज्वाला) ले हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनहितविपरीत कार्य भएको बताएकी छन्। विगतमा अन्य दलका नेताहरूको विदेश भ्रमणको आलोचना गर्ने गरिएको सन्दर्भ जोड्दै उनले ‘हिजो अरूले गर्दा गलत, आज हामीले गर्दा सही ?’ भनी प्रतिप्रश्न गरेकी छन्।

​यसैगरी, सांसद गणेश कार्कीले सधैँझैँ यसपटक पनि कोप सम्मेलनमा जानेहरूको लर्को लागेको उल्लेख गर्दै भ्रमणको खर्च विवरण पारदर्शी बनाउन माग गरेका छन्। उनले विदेश जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन्।

​अर्की सांसद आशिका तामाङले राज्यको ढुकुटीबाट एउटा सांसदले कति पटक विदेश भ्रमण गर्न पाउने भन्ने मापदण्ड र पारदर्शितामाथि प्रश्न उठाएकी छन्। भ्रमणका विषयमा सर्वसाधारण जनता त परको कुरा, आफ्नै पार्टीका अन्य सांसदहरूलाई समेत कुनै जानकारी नहुने गरेको उनको गुनासो छ।

​त्यस्तै, सांसद राजू पाण्डेले पद र जिम्मेवारीमा पुगेपछि नेताहरूको प्राथमिकता नै विदेश भ्रमण हुने गरेको भन्दै तिखो कटाक्ष गरेका छन्। उनले ‘जिम्मेवारी/कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ… अचम्म ! लाज पनि लजायो कि ?’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।