प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले छठ पर्व लक्षित सुरक्षा योजनाका सम्बन्धमा जानकारी लिँदै देशभर उच्च सतर्कता र व्यावसायिकताका साथ प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा उनले काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबाट प्रस्तुत सुरक्षा योजनाको समीक्षा गर्दै आवश्यक निर्देशन दिएका हुन्।

​नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको उक्त कार्यक्रममा आइजिपी केसीले छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै सुरक्षा निकाय तथा सरोकारवाला पक्षसँग प्रभावकारी समन्वय र सहकार्य गर्न आग्रह गरे। सम्भावित सुरक्षा चुनौतीको पूर्वआकलन गरी भरपर्दो सुरक्षा योजना कार्यान्वयन गर्न तथा कुनै पनि किसिमको कमजोरी हुन नदिन उनले सचेत गराए।

​यसैगरी, पर्वसँग सम्बन्धित अवाञ्छित गतिविधि तथा संवेदनशील अवस्थाबारे समयमै सूचना सङ्कलन, विश्लेषण र आदानप्रदान गरी पूर्वतयारी गर्न उनले निर्देशन दिएका छन्। पर्वका क्रममा हुने भीडभाड र जमघटको प्रभावकारी व्यवस्थापन गर्न, श्रद्धालु भक्तजनको आवागमनलाई सहज बनाउन तथा नदी, पोखरी र जलाशय आसपास विशेष सुरक्षा सतर्कता अपनाउन उनले जोड दिए।

​भीड नियन्त्रणका क्रममा संवाद, सम्झाइबुझाइ र समन्वयलाई पहिलो प्राथमिकतामा राख्न निर्देश गर्दै आइजिपी केसीले बल प्रयोग गर्नैपर्ने परिस्थिति सिर्जना भएमा प्रचलित कानुन, आवश्यकताको सिद्धान्त र समानुपातिकताको मापदण्डअनुरूप न्यूनतम बल प्रयोग गर्न स्पष्ट पारे। साथै, फिल्ड कमान्डरहरूले समग्र सुरक्षा अवस्थाको प्रत्यक्ष निगरानी र नियन्त्रण कायम राख्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।