कतारको दोहामा आयोजित विश्व दूरसञ्चार नीति मञ्च (पीपी–२६) मा नेपालले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण र डिजिटल विभाजन न्यूनीकरणको मुद्दालाई सशक्त रूपमा उठाएको छ।
सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विकासोन्मुख तथा अल्पविकसित राष्ट्रहरूलाई विश्वव्यापी डिजिटल रूपान्तरणमा पछाडि पर्न नदिन अन्तर्राष्ट्रिय सहयोगको खाँचो औँल्याएका हुन्।
मन्त्री तिमिल्सिनाले डिजिटल खाडल पुर्नका लागि प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहायता अत्यावश्यक रहेको बताएका छन्।
सम्बोधनका क्रममा उनले नेपालमा जलवायुजन्य विपद्का कारण दूरसञ्चार पूर्वाधारमा पुगेको क्षतिको उदाहरण प्रस्तुत गर्दै विपद् प्रतिरोधी सञ्चार प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए।
यसका साथै, ग्रामीण क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्न र कृत्रिम बौद्धिकता (एआई) लगायतका उदीयमान प्रविधिहरूमा विकासोन्मुख देशहरूको समान पहुँच सुनिश्चित गर्न उनले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र सहयोगका लागि आग्रह गरेका छन्।