टर्कीको अन्टाल्यामा सञ्चालित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का क्रममा परराष्ट्रमन्त्री सिसिर खनाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच द्विपक्षीय भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले हालै जलवायु परिवर्तनका कारण भोटेकोशीमा आएको भीषण बाढीपछि महासचिव गुटेरेसले पठाएको सहानुभूति र ऐक्यबद्धता सन्देशप्रति गहिरो आभार व्यक्त गरेका छन्। साथै, उनले संयुक्त राष्ट्रसङ्घको कुशल नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानव मर्यादा र दिगो विकासलाई प्रवर्द्धन गर्न गुटेरेसले देखाएको दृढ प्रतिबद्धताको प्रशंसा गरेका छन्।
सो अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनहरूमा प्रमुख सेना तथा प्रहरी योगदानकर्ता मुलुकका रूपमा विश्व शान्ति र स्थायित्व कायम गर्न नेपालले पुर्याएको महत्त्वपूर्ण भूमिकाको कदर गरेका थिए। भेटमा नेपालको विपद्पछिको पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहु-प्रकोप पूर्वसूचना प्रणालीको विकास, जलवायु वित्तको दायरा विस्तार तथा प्रभावकारी जलवायु कार्यलगायतका समसामयिक क्षेत्रीय र विश्वव्यापी विषयहरूमा समेत विस्तृत विचार आदानप्रदान भएको छ।