अमेरिकामा प्रकाशको पर्व तिहार (दीपावली) लाई सङ्घीय सार्वजनिक बिदाका रूपमा मान्यता दिलाउन कङ्ग्रेस सदस्य ग्रेस मेङले अमेरिकी प्रतिनिधि सभामा ‘दिवाली डे एक्ट’ पुनः दर्ता गराएकी छन्। कङ्ग्रेसनल एसियन प्यासिफिक अमेरिकन ककसकी अध्यक्ष मेङको नेतृत्वमा दर्ता गरिएको यस विधेयकलाई १९ जना सांसदहरूले समर्थन (सह-प्रायोजन) गरेका छन्।

​यो विधेयक पारित भएमा अमेरिकामा दीपावली १२औँ सङ्घीय सार्वजनिक बिदाका रूपमा स्थापित हुनेछ। युएस कोडको ‘टाइटल ५’ लाई संशोधन गर्दै ल्याइएको यस कानुनले अमेरिकामा बसोबास गर्ने दक्षिण एसियाली, दक्षिणपूर्वी एसियाली तथा इन्डो-करिबियन धार्मिक समुदायको सांस्कृतिक योगदानलाई सम्मान गर्नेछ। अमेरिकाका पेन्सिल्भेनिया, कनेक्टिकट र क्यालिफोर्नियाजस्ता राज्यहरूमा पहिले नै तिहारलाई राज्यस्तरीय बिदाको मान्यता दिइसकिएको सन्दर्भमा यो राष्ट्रिय विधेयक अघि बढाइएको हो।