काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको ऊर्जा क्षेत्रमा लोडसेडिङ अन्त्य भएको १० वर्ष पूरा भएको अवसरमा एक विचार सार्वजनिक गर्दै विद्युत् उत्पादनमा ऐतिहासिक छलाङ मारे पनि यसको उचित व्यवस्थापन र बजार विस्तारमा गम्भीर बन्नुपर्ने बताएका छन्।
२०७३ सालअघि १८ घण्टासम्मको लोडसेडिङ बेहोरेको नेपालमा त्यसयता विद्युत् उत्पादन ८०० मेगावाटबाट बढेर करिब ४,२०० मेगावाट पुगेको छ भने थप ७ देखि ८ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन छन्। तर, हालैको लक्ष्मीपूजाको समयमा माग उच्च हुँदा पनि भारततर्फको निर्यातबाहेक करिब ५०० मेगावाट र रातिको समयमा १,००० मेगावाटभन्दा बढी विद्युत् खेर गएको स्थितिप्रति उनले चिन्ता व्यक्त गरेका छन्। त्यस्तै, भोटेकोशी बाढीका कारण ५०० मेगावाट क्षमताका आयोजनाहरू बन्द हुनु र भारतबाट निर्यात अनुमति पाउन ढिलाइ हुँदा करोडौँको सम्भावित आम्दानी गुम्नु चिन्ताको विषय भएको उनको भनाइ छ।
विद्युत् अभावको युगबाट उब्रिएर नेपाल अहिले निर्यातकर्ता बनेको सन्दर्भमा अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले समयमै आवश्यक सहमति लिन, आन्तरिक खपत बढाउन र प्रसारण पूर्वाधारको विकासमा योजनाबद्ध ढङ्गले लाग्नुपर्नेमा उनले जोड दिएका छन्।