काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, एकता र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय स्वाभिमानको जीवन्त प्रतीक भएको उल्लेख गर्दै यसले एकता, सहअस्तित्व, परोपकार र सामाजिक न्यायको मार्गमा अघि बढ्न प्रेरित गर्ने बताउनुभएको छ।
नेपाल संवतका प्रवर्तक शंखधर साख्वाले जनताको ऋणमोचनमार्फत दिनुभएको सेवा, त्याग र लोककल्याणको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले समाज र राष्ट्रप्रतिको जिम्मेवारी व्यक्तिगत स्वार्थभन्दा माथि हुनुपर्ने आदर्श उहाँको योगदानले स्थापित गरेको बताउनुभएको छ।
देश अहिले सुशासन, समृद्धि, सामाजिक न्याय र सार्थक परिवर्तनको यात्रामा रहेको उल्लेख गर्दै उहाँले यस यात्रालाई सफल बनाउन राज्यका सबै तह र निकाय जिम्मेवार, जवाफदेही र जनउत्तरदायी हुनुपर्नेमा जोड दिनुभएको छ। नागरिकको विश्वास जित्ने, सबैलाई समान अवसर सुनिश्चित गर्ने र भावी पुस्ताका लागि समुन्नत राष्ट्र निर्माण गर्ने दायित्व सबैको साझा भएको उहाँको भनाइ छ।
मन्त्री श्रेष्ठले नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विविधता नै राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षणसँगै आपसी सद्भाव, राष्ट्रिय एकता र सहिष्णुतालाई थप सुदृढ बनाउनुपर्ने बताउनुभएको छ।
नयाँ वर्षले सबैमा नयाँ आशा, ऊर्जा र सकारात्मक संकल्प सञ्चार गरोस् भन्ने कामना गर्दै उहाँले राष्ट्र निर्माणको साझा अभियानमा एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण नेपालीमा आह्वान गर्नुभएको छ।