वीरेन्द्रनगर, सुर्खेत। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका सन्तोष बोहोरालाई वीरेन्द्रनगरस्थित उहाँकै निवासमा पुगेर भेट गर्नुभएको छ।

भेटका क्रममा मन्त्री बादीले बोहोराको स्वास्थ्य अवस्था, पारिवारिक परिस्थिति तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको थियो।

उहाँले बोहोराकी छोरीको शिक्षालाई निरन्तरता दिन सहयोग गर्ने, श्रीमतीका लागि रोजगारीको अवसर जुटाउन पहल गर्ने तथा परिवारलाई आवश्यक अन्य सहयोग र सेवा सुविधाका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने बताउनुभयो।

मन्त्री बादीले घाइते तथा प्रभावित परिवारको पुनर्स्थापना, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाका विषयमा आवश्यक सहयोगका लागि पहल गर्नुभएको छ।