​काठमाडौँ। नेपालमा बढ्दै गएको साइबर स्क्याम तथा वित्तीय ठगी नियन्त्रणका लागि स्थापना गरिएको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रले औपचारिक रूपमा आफ्नो सेवा प्रारम्भ गरेको छ। २०८३ कात्तिक २० गते आयोजित एक विशेष कार्यक्रमका बिच प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले केन्द्रको सेवा शुभारम्भ गरेका हुन्।

​नेपाल सरकारको मन्त्रीस्तरको गत असोज २३ गतेको निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम यस केन्द्रको स्थापना गरिएको हो। साइबर ठगीका घटनामा तत्काल र प्रभावकारी प्रतिकार्य गर्नका लागि प्रहरी, बैंक तथा वित्तीय संस्था, वालेट सेवा प्रदायक, नियामक निकाय र इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिहरूले एउटै भौतिक कक्षबाट एकीकृत रूपमा काम गर्ने व्यवस्था मिलाइएको छ।

​डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य राखिएको यस केन्द्रमा सर्वसाधारणका लागि २४ सै घण्टा सूचना तथा उजुरी दिन सकिने प्रबन्ध गरिएको छ। साइबर ठगीमा परेमा वा शंकास्पद गतिविधिको जानकारी दिनका लागि सर्वसाधारणले ‘१२४७’ आकस्मिक नम्बरमा सीधा सम्पर्क गर्न सक्नेछन्।