काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो माघ १ गते स्वयम्भूको भूइँख्यः (भुइँखेल)मा आयोजना गर्ने सम्यक् महादानका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई ग्वयदाँ (निमन्त्रणा) प्रदान गरिएको छ । ग्वयँदाका लागि आज बिहान स्वयम्भूमा शास्त्रीय विधिअनुसार पूजा गरेपछि सांस्कृतिक बाजागाजासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर सम्यक् महादान मूल समारोह समितिका प्रमुख संयोजक सुनिता डंगोलले ग्वयदाँ (निमन्त्रणा) दिनुभएको हो ।
ग्वयदाँ (निमन्त्रणा)का लागि स्वयम्भूमा प्रा. डा. नरेशमान बज्राचार्यको धर्माधिकारत्वमा मूल आचार्य मञ्जुश्रीरत्न बज्राचार्य, उपाध्याय भीमरत्न बज्राचार्य, कर्माचार्य यशरत्न बज्राचार्य र सहायक गुरु बज्राचार्य र सहायक गुरुमाहरुले ग्वयदाँ पूजा गर्नुभएको थियो । स्वयम्भूमा रहेको शान्तिपुर, बसुधरा (बसुन्धरा), महामञ्जुश्री, सम्यकमा ल्याइने भगवान अभिताब, बिजेश्वरी योगिनी, अबलोकितेश्वर (सेतो मच्छिन्द्रनाथ) को विधिवत् पूजा गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजकीय बाजा तथा धिमे र गुँला बाजासहित मूल समारोह समिति, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु, सम्यक् महादान कार्यान्वयन समिति, उपसमिति, महानगरपालिकाका विभागीय प्रमुख सहितको टोली, राष्ट्रपति भवन पुगेर निमन्त्रणा गरिएको हो ।
त्यस अवसरमा महानगरपालिकाका कार्यवाहक प्रमुख एवं मूल समारोह समितिका प्रमुख संयोजक डंगोलले, निमन्त्रणा पत्र पढेर राष्ट्रपतिलाई दिनुभएको थियो । त्यस अवसरमा आचमन दिने, टीका लगाइदिने, माला, पुष्पगुच्छा र फलफुल अर्पण गरिएको थियो ।
ग्वयदाँ पूजासँगै कार्यवाहक प्रमुख एवं मूल समारोह समितिका प्रमुख संयोजक डंगोलले, घण्टाघोषण (स्वयम्भूबाट सम्बन्धित सबैलाई दिइएको निमन्त्रणा बाचन) गर्नुभएको थियो । सम्यक महादानमा आउनका लागि सांस्कृतिक र प्रशासनिक रुपमा निम्तो नपुगेका सबैले स्वयम्भूबाट गरिएको घण्टाघोषणबाट आफूलाई निम्तो प्राप्त भएको मान्ने चलन छ ।