कात्तिक १३ गते शुक्रबार सादा पोशाकका प्रहरी विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै प्रेस काउन्सिल नेपालले प्रभावित पाँचवटा सञ्चारमाध्यममा स्थलगत अनुगमन गरेको छ।

काउन्सिल सदस्य रविराज बरालको नेतृत्वमा गएको टोलीले बुधबार नेपाल प्रेस, दियोपोस्ट र नयाँ पत्रिका तथा बिहीबार मोटिभेटन्युज र डीएनए खबर का कार्यालयमा पुगेर सम्बन्धित पत्रकारहरूसँग घटनाको वस्तुस्थिति र पछिल्लो अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको हो।

अनुगमन टोलीमा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल र अनुगमन अधिकृत सचिता घिमिरेसमेत सहभागी हुनुहुन्थ्यो।

अनुगमनका क्रममा काउन्सिल सदस्य बरालले मर्यादित र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनसँगै प्रेस स्वतन्त्रताको रक्षा गर्न तथा यसमा कुनै पनि प्रकारको आँच आउन नदिन काउन्सिल निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वतन्त्र प्रेस लोकतन्त्रको आधार हो। यसको संरक्षण र पत्रकारको व्यावसायिक सुरक्षाप्रति प्रेस काउन्सिल नेपाल प्रतिबद्ध छ।