सर्वप्रथम नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह, २०८२ मा कुलपतिका हैसियतमा उपस्थित हुन पाउँदा म खुसी व्यक्त गर्दछु ।
यस समारोहमा विभिन्न सङ्कायअन्तर्गत विभिन्न विषयहरूमा दीक्षित हुनुभएका विद्यार्थीहरूमा बधाई ज्ञापन गर्दछु ।
र, यस विश्वविद्यालयलाई पहिलो दीक्षान्तसम्म ल्याइपुर्याउने विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरू र प्रत्यक्ष-परोक्ष रूपमा सहयोग पुऱ्याउनुहुने महानुभावहरूलाई धन्यवाद प्रकट गर्दछु ।
२०७३ सालमा स्थापना भई २०७४ सालदेखि सामाजिकशास्त्र तथा शिक्षा, व्यवस्थापन तथा कानुन र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायअन्तर्गत विभिन्न विषयमा स्नातक, पीजीडी, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधिसम्मको अध्यापन गराउँदै विश्वविद्यालय अगाडि बढिरहेको छ ।
नेपालभित्र मात्र नभई अन्य देशका विभिन्न स्थानमा रहेका विद्यार्थीहरूलाई खुला तथा दूर सिकाइमार्फत सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउन यस विश्ववविद्यालयले प्रयास गरिरहेको छ ।
छोटो समयमा नै यस विश्वविद्यालयले प्राज्ञिक जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।
साथै आगामी दिनमा विश्वविद्यालयले अझै प्रतिस्पर्धी, समयसापेक्ष, रोजगारमूलक, उद्यमशीलताउन्मुख, अनुसन्धान तथा नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा भूमिका खेल्नेछ भन्ने विश्वास छ ।
भौतिक रूपमा कक्षामा उपस्थित हुन नसक्ने दूर-दराजका र अन्य काम-व्यवसायमा व्यस्त विद्यार्थीहरूलाई आफ्ना रुचि र समयअनुकूलका कार्यक्रमहरूमा उच्च शिक्षा लिन अझ सशक्त भूमिका खेलोस् भन्ने अपेक्षा राख्दछु ।
आजका युवाहरूको बदलिँदो अपेक्षालाई ध्यानमा राखेर शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै प्रतिभा पलायनलाई रोक्ने तथा उनीहरूको ज्ञान र सीपलाई राष्ट्रनिर्माणमा प्रयोग गर्ने चुनौती हाम्रा सामु रहेको छ ।
त्यस्ता चुनौतीहरूको सामना गर्न उच्च शिक्षा प्रदायक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यस सन्दर्भमा नेपाल खुला विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने कामना गर्दछु ।
विश्वविद्यालय आन्तरिक रूपमा सबल रहँदै धेरैभन्दा धेरै विद्यार्थीहरूलाई शिक्षाको मूलधारमा समाहित गर्न सक्नुपर्ने चुनौतीलाई सामना गर्न सक्षम हुनुपर्दछ । ज्ञानको समयसापेक्ष निर्माण र वितरणका पक्षलाई सँगसँगै महत्त्वका साथ अगाडि लैजान सक्नुपर्छ ।
विश्वविद्यालयहरू विज्ञान तथा प्रविधिको द्रुततर रूपमा भएको विकासलाई समायोजन गर्दै अगाडि बढ्नुको विकल्प छैन ।
हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरू अझै गतिशील हुन जरूरी छ । यस खुला विश्वविद्यालयले यो समयको गति र प्रवाहलाई आत्मसात् गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई समावेश गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चाल गर्न सकोस् ।
अन्त्यमा, आजको कार्यक्रममा दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूमा पुनः बधाई भन्दै तपाईंहरूले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप आफ्नो व्यक्तित्व तथा राष्ट्रनिर्माणमा भरपूर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
जाँदाजाँदै यहाँहरुलाई मेरो विशेष अनुरोध छ-
- यो देश हाम्रो हो, हामीले नै बनाउने हो भावका साथ सबै अघि बढौँ ।
- हामीले नै यसलाई बस्नलायक बनाउने हो । हामीले नबनाए कोही आएर बनाइदिँदैन ।
- यहाँका तमाम बेथितिबाट भाग्ने होइन, हामी आफै डटेर सामना गर्नुपर्छ । आफू बसेको ठाउँ आफैँले सफा गर्नुपर्छ ।
तसर्थ,
- यहाँहरु सकेसम्म नेपालमै केही गर्नुहोस् । नेपालमै अवसरहरुको पहिचान गर्नुहोस् ।
- यदि अवसर नभएका ठाउँमा नयाँ अवसरहरुको सिर्जना गर्नुहोस् ।
- र, जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्नुहोस् ।
शुभकामना ।
धन्यवाद!
२०८२ माघ ११ गते आइतबार, काठमाडौँ ।
(नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको मन्तव्य)