दोलखाको एउटा दुर्गम गाउँमा जन्मिएकी बिमलाको शैक्षिक यात्रा सामान्य थिएन। प्राथमिक शिक्षा गाउँमै पूरा गरेपछि उनी थप अध्ययनका लागि भारत पुगिन्। देहरादुनस्थित सेन्ट जोसेफ एकेडेमीबाट विद्यालय शिक्षा पूरा गरेकी उनले दिल्ली विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक र जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) बाट अर्थशास्त्रमै स्नातकोत्तर गरिन्। त्यसपछि साउथ एसियन युनिभर्सिटीबाट विद्यावारिधि पूरा गर्दै उनले आफ्नो शैक्षिक यात्रालाई नयाँ उचाइमा पुर्याइन्।
उनको यो यात्रा अझ प्रेरणादायी यसकारण छ कि उनले आफ्नो शैक्षिक जीवनका सबै तहमा छात्रवृत्तिको सहारामा अध्ययन गरेकी हुन्। निरन्तर उत्कृष्ट शैक्षिक प्रदर्शन, अध्ययनप्रतिको लगाव र अनुसन्धानमा समर्पणले उनलाई अन्तर्राष्ट्रिय शैक्षिक संस्थासम्म पुर्याएको हो।
बिमलाले ‘एस्सेज अन सन प्रेफरेन्स: एभिडेन्स फ्रम फर्टिलिटी, हेल्थ इन्भेस्टमेन्ट्स एन्ड एजुकेसनल आउटकम्स इन नेपाल’ शीर्षकमा विद्यावारिधिको अनुसन्धान गरेकी छन्। नेपाली समाजको लैङ्गिक प्राथमिकता र त्यसले महिला तथा बालबालिकाको जीवनमा पार्ने प्रभाव बुझ्न उनको अनुसन्धानले महत्त्वपूर्ण शैक्षिक योगदान दिन सक्ने अपेक्षा गरिएको छ।
थामी समुदायकोबाट विद्यावारिधि हासिल गर्ने पहिलो व्यक्ति भएको उनको उपलब्धिले विशेष अर्थ राख्छ। ऐतिहासिक रूपमा राज्यको मूलधारबाट टाढा पारिएका, शिक्षा र अवसरमा सीमित पहुँच भएका समुदायका लागि यो उपलब्धि केवल एउटा शैक्षिक उपाधि होइन, पुस्तौँदेखि साँघुरिएका सम्भावनाका ढोका खोल्न सकिने प्रमाण पनि हो। यो परिवर्तन केवल पुस्तान्तरणको कथा होइन, अवसर पाएमा सीमान्तकृत समुदायले पनि ज्ञान र अनुसन्धानको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छन् भन्ने सन्देश हो।
बिमलाको उपलब्धिप्रति सामाजिक सञ्जालमा प्रशंसा र बधाईको ओइरो लागिरहेको छ। आफूले प्राप्त गरेको माया र प्रशंसाबाट भावुक भएको बताउँदै उनले आफ्नो थेसिस बुझाएपछि आएका प्रतिक्रियाले आफूलाई अत्यन्तै अभिभूत बनाएको उल्लेख गरेकी छन्। यस शैक्षिक उपलब्धिले आफ्नो मात्र नभई यही बाटो पछ्याउन चाहने अन्य समुदायका व्यक्तिको यात्रालाई समेत समेटेको उनको भनाइ छ।
उनले आफ्नो सफलता सबैका लागि असाधारण नदेखिन सक्ने स्वीकार गर्दै केही व्यक्तिका लागि भने यसको अर्थ निकै ठूलो हुन सक्ने बताएकी छन्। उनी भन्छिन्, ‘कसैका लागि यो उनीहरूले हासिल गर्न सक्ने सबैभन्दा ठूलो उपलब्धि हुन सक्छ, कसैका लागि लामो समयदेखि देखेको सपना र अरू कसैका लागि आफूले कहिल्यै कल्पना नगरेको सम्भावनाको ढोका हुन सक्छ’। उनको यो अभिव्यक्तिले व्यक्तिगत सफलताभन्दा पर यसको सामुदायिक महत्त्वलाई उजागर गर्छ।
सीमान्तकृत हुनु राज्यव्यवस्थाले सिर्जना गरेको संरचनात्मक असमानताको परिणाम हुन सक्छ, तर त्यसले व्यक्तिको सम्भावनाको अन्त्य गर्दैन। बिमलाको शैक्षिक यात्राले यही कुरा प्रमाणित गरेको छ। दोलखाको दुर्गम गाउँबाट सुरु भएको उनको यात्रा दक्षिण एसियाली विश्वविद्यालयको विद्यावारिधिसम्म पुगेको छ। अब उनको ज्ञान, अनुसन्धान र अनुभवले नेपाली समाजको बौद्धिक बहस, लैङ्गिक समानता तथा थामी समुदायको शैक्षिक जागरणमा कस्तो योगदान पुर्याउँछ भन्ने प्रतीक्षा बाँकी नै छ।
बिमलाको कथा ती अभिभावकका लागि पनि प्रेरणा हो, जसले सीमित स्रोतसाधनका बीच आफ्ना सन्तानलाई शिक्षित बनाउने सपना देखिरहेका छन्। ती विद्यार्थीका लागि आशा हो, जसले अभावका कारण आफ्नो लक्ष्य टाढा ठानिरहेका छन्।