​काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउँदै राष्ट्रिय आत्मविश्वासलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत एक शुभकामना सन्देश जारी गर्दै उहाँले एनपीएल नेपाली क्रिकेटप्रतिको जनउत्साह, हाम्रा युवाको प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिविम्ब भएको बताउनुभएको हो।

​गत वर्ष आफ्नो प्रधानमन्त्रीत्व कालमा विशिष्ट परिस्थितिका बिच एनपीएलको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै कार्कीले उक्त प्रतियोगिताले देशमा सुरक्षासम्बन्धी सन्देह निवारण गर्न र समाजमा आशा एवं उत्साह जगाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ।

​यस वर्ष सञ्चालन भइरहेको एनपीएलले नेपाली क्रिकेटको गौरव विश्वभर फैलाउने अपेक्षा राख्दै उहाँले सम्पूर्ण खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। साथै, उहाँले नेपाल सुरक्षित, सक्षम र सम्भावनायुक्त रहेको सन्देशसमेत दिनुभएको छ।