काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनुभएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ। नेपाल-भारत सम्बन्धका सन्दर्भमा वाग्लेले राख्नुभएको धारणा आपत्तिजनक हुनुका साथै नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको उहाँले टिप्पणी गर्नुभएको छ।

​विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका प्रमुख मुद्दाहरूलाई कमजोर बनाउने तर्क पूर्णतया गैरजिम्मेवार रहेको थापाको भनाइ छ। नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहेको स्पष्ट पार्नुभएको छ।

सीमा अतिक्रमण, डुबान र नाकाबन्दी जस्ता ज्यादतीका विरुद्ध आवाज उठाउनु भारतविरोध नभएर राष्ट्रप्रतिको अविभाज्य निष्ठा भएको उहाँको तर्क छ।

​सानो समूहका केही अपवादमूलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई सङ्कुचित देख्नु अर्थमन्त्रीको पूर्वाग्रही दृष्टिकोण भएको भन्दै उहाँले राष्ट्रहितमा उठ्ने आवाजहरू असान्दर्भिक भइसकेका हुन् कि भनी प्रश्न उठाउनुभएको छ।

जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यस्ता विषयमा स्पष्ट पारोस् भन्दै पूर्वउपप्रधानमन्त्री थापाले अर्थमन्त्रीको यो अभिव्यक्तिबारे वर्तमान सरकारको आधिकारिक धारणा के हो भनी प्रश्न गर्नुभएको छ।