काठमाडौँ। काठमाडौँ महानगरपालिकाले उपत्यकाको मौलिक नेवारी वास्तुकला र सांस्कृतिक सम्पदाको संरक्षण गर्न परम्परागत शैलीमा घर निर्माण तथा पुनर्निर्माण गर्ने घरधनीहरूका लागि विशेष आर्थिक प्रोत्साहनको व्यवस्था ल्याएको छ। यस योजना अन्तर्गत परम्परागत नेवारी वास्तुकला झल्किने गरी घर बनाउने वा पुराना जीर्ण घरहरूको पुनरुत्थान गर्ने घरधनीले घरको वर्ग र स्थानको आधारमा ४० लाख रुपैयाँसम्म अनुदान प्राप्त गर्न सक्नेछन्।
काठमाडौँ उपत्यकाको ऐतिहासिक पहिचान, मौलिक कला र परम्परागत बस्तीहरूको स्वरूप जोगाउने मुख्य उद्देश्यसहित महानगरको ऐनअनुसार यो व्यवस्था गरिएको हो। अनुदान रकमको अतिरिक्त घरधनीले घर निर्माणका क्रममा कर छुट तथा नक्सा पासमा समेत विशेष सहुलियत पाउने व्यवस्था मिलाइएको छ। यस प्रकारको सहरी विकास योजनाले परम्परागत वास्तुकलाको संरक्षण गर्नुका साथै स्थानीय संस्कृति र सम्पदामैत्री सहरी विकासलाई थप टेवा पुर्याउने विश्वास लिइएको छ।