काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तसँग तीनबुँदे सहमति भएपछि ‘जना आस्था’ साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। समाचारको विषयलाई लिएर उत्पन्न विवादलाई प्रेस काउन्सिल नेपालमार्फत समाधान गर्ने सहमति बनेपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमुक्त गरेको हो।

​धादिङमा पन्तले छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जना आस्थामा समाचार प्रकाशित भएपछि पन्तले साइबर ब्यूरोमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई नखुस्थित निवासबाटै उपस्थित गराएपछि चौतर्फी विरोध भएको थियो। नेपाल पत्रकार महासङ्घले काउन्सिलको क्षेत्राधिकार मिचेर सञ्चारकर्मी पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेको थियो।

​सहमति अनुसार अब यो विषयलाई कानुनी रूपमा प्रेस काउन्सिल नेपालमा लगिनेछ। साथै, पन्तले पनि पत्रकार श्रेष्ठ र समाचारलाई लिएर सामाजिक सञ्जालमा कुनै पनि नकारात्मक पोस्ट नगर्ने सहमति पत्रमा उल्लेख छ। सहमति भएसँगै दुवै पक्षबीचको पछिल्लो विवाद केहि मत्थर हुने अपेक्षा गर्न सकिन्छ ।