बागलुङ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले न्यायाधीशहरू नबिकेमा सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार देउवा पक्षको बागलुङ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसको आधिकारिकता विवादमा आफ्नो पक्षमा निर्णय आउने दाबी गरे।
सम्बोधनका क्रममा देउवाले पञ्चायतकाल र पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा समेत अदालतबाट न्याय पाएको स्मरण समेत गरे। “हिजो मलाई पञ्चायतकालमा नियन्त्रणमा राखेको थियो। अदालतको फैसलाले छाडिदियो। पूर्वराजा ज्ञानेन्द्रका पालामा पनि शाही आयोगले मलाई थुनेको थियो। सर्वोच्चले राजाको अगाडि छाड्ने के हिम्मत गर्ला र भन्ने लागेको थियो, त्यो बेला पनि छाडेको थियो,” उनले भने।
आफ्नो पक्षमा फैसला आउने अपेक्षा व्यक्त गर्दै देउवाले भने, “यस पटक पनि विश्वास छ, न्यायाधीश कतै नबिकेमा सर्वोच्चले हाम्रै पक्षमा निर्णय गरिदिनेछ।”
गत वर्षको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकताविरुद्ध देउवा सर्वोच्च अदालत पुगेका थिए, जहाँ आयोगकै निर्णय सदर भएको थियो। हाल उक्त फैसला पुनरावलोकनका लागि निस्सा जारी भई पुनः सुनुवाइ हुन लागेको सन्दर्भमा देउवाले यस्तो विश्वास व्यक्त गरेका हुन्।