०४ मंसिर, काठमाडौँ। कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद-२०८३ अन्तर्गतका खेलहरू कर्णालीका ५ र लुम्बिनी प्रदेशका २ गरी कुल ७ स्थानमा सञ्चालन हुने भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन्।
राखेपका अनुसार बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ।
कुन जिल्लामा कुन र कति खेल ?
सुर्खेत (२३ खेल) : प्रतियोगिताको मुख्य केन्द्र सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्याण्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्वी, साइक्लिङ, इ–स्पोर्टस् र सेपाकताक्रो गरी २३ खेल सञ्चालन हुनेछन्। सुर्खेतको मुख्य रंगशाला, कभर्डहल, सेनाको खेल मैदान, काँक्रेबिहार र छिन्चु लगायतका स्थानमा यी खेल खेलाइनेछ।
नेपालगञ्ज (२ खेल) : पूर्वाधारको उपलब्धतालाई ध्यान दिँदै बाँकेको नेपालगञ्जमा पौडी र सुटिङका प्रतिस्पर्धा सञ्चालन गरिनेछ।
बर्दिया (२ खेल) : बर्दियामा टेनिस र खो–खो (मुरीघाट) का खेलहरू आयोजना हुनेछन्।
सल्यान (२ खेल) : सल्यानको श्रीनगर कभर्डहलमा कुस्ती र जुडोका खेलहरू सञ्चालन हुने तालिका छ।
दैलेख (१ खेल) : दैलेखको नारायण कभर्डहलमा आई.टि.एफ. तेक्वान्दोको प्रतिस्पर्धा हुनेछ।
कालीकोट (१ खेल) : कालीकोट कभर्डहलमा बुद्धिचाल (चेस) खेल आयोजना गरिनेछ।
पश्चिम रुकुम (१ खेल) : पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन (बडीबिल्डिङ) को प्रतिस्पर्धा हुनेछ।
यद्यपि, राखेपले प्राविधिक कारणवश आवश्यक परेमा खेलस्थल परिवर्तन हुन सक्ने स्पष्ट पारेको छ।
उद्घाटनअघि नै १० खेल सुरु हुने
आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ।
यद्यपि, उद्घाटनको आठ दिनअघि अर्थात् मंसिर ८ गतेदेखि नै भलिबल, फुटबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिस लगायतका १० खेल सुरु भइसक्नेछन्।
सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ।