काठमाडौँ। नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले वरिष्ठ पत्रकार तथा ‘जना आस्था’ का प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले साइबर ब्यूरोमा पुर्‍याएको घटनाप्रति कडा भर्त्सना गरेकी छिन्। उनले सरकारले प्रहरी प्रशासनको दुरुपयोग गरी सञ्चारमाध्यम र पत्रकारमाथि दमन बढाएको भन्दै आपत्ति व्यक्त गरेकी छिन्।

​अध्यक्ष शर्माले समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सिलमा जाने र सोही निकायमार्फत छलफल गराउनु पत्रकार आचारसंहिता र विधिको शासनको मर्म भएको स्पष्ट पारेकी छिन्। काउन्सिलको क्षेत्राधिकारलाई बेवास्ता गर्दै पत्रकारलाई साइबर ब्यूरोमा छलफल गराउने कुरा कानुनी रूपमा गैरसंवैधानिक र असङ्गत रहेको उनको भनाइ छ।

​सरकारले दिनानुदिन प्रेस काउन्सिलको औचित्य समाप्त पार्दै लगेको र अधिनायकवादी शैलीमा प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउँदै शर्माले भनेकी छिन्, “अधिनायकवादी सरकारको आयु धेरै हुँदैन।” उनले पक्राउ परेका पत्रकार श्रेष्ठलाई तत्काल बिनासर्त रिहा गर्न माग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको यो ठाडो हस्तक्षेपविरुद्ध सम्पूर्ण पत्रकार तथा सञ्चार क्षेत्रलाई एकताबद्ध हुन आह्वान गरेकी छिन्।