​काठमाडौँ। जना आस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै तीव्र आपत्ति जनाएको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग कडा माग गरिएको छ।

​रास्वपा नेता तथा कलाकार हिमेश पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको भन्दै जना आस्थामा समाचार प्रकाशित भएपछि पन्तले साइबर ब्यूरोमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासहितको टोलीले पत्रकार श्रेष्ठलाई ललितपुरको नखुस्थित उहाँको निवासबाट पक्राउ गरेको हो।

​महासङ्घले समाचारका विषयमा चित्त नबुझेमा स्थापित कानुनी विधिअनुसार समाधान नखोजी सिधै साइबर ब्यूरोमार्फत पक्राउ गर्नु संविधान र प्रेस स्वतन्त्रताको भावनाविपरित भएको बताएको छ। प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारलाई समेत मिचेर राज्यसत्ताको आडमा गरिएको यो स्वेच्छाचारी कदमले लोकतान्त्रिक मूल्य-मान्यताको खिल्ली उडाएको भन्दै महासङ्घले यस्ता प्रेस विरोधी व्यवहार तत्काल सच्याउन चेतावनी दिएको छ।