टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले चीन भ्रमणमा जाने यात्रुलाई मोबाइल फोनमा झुन्डिनुभन्दा झ्यालबाहिरको दृश्य हेर्न आग्रह गरेका छन्। चिनियाँ सञ्चारमाध्यमसँगको कुराकानीमा मस्कले चीनको प्राकृतिक, ऐतिहासिक र भौतिक संरचनाको भव्यता शब्दमा वर्णन गर्न कठिन हुने भन्दै पर्यटकलाई सकेसम्म धेरै समय चीन घुम्न सुझाव दिएका हुन्।
मस्कले आफूले बेइजिङदेखि सियानसम्म उच्चगतिको रेलमा यात्रा गरेको अनुभव सुनाउँदै त्यसलाई ‘उत्कृष्ट अनुभव’का रूपमा वर्णन गरे। रेलका स्टेशनहरू समेत आफूलाई निकै प्रभावशाली लागेको बताउँदै उनले यात्राका क्रममा मोबाइल फोनमा व्यस्त नहुन र ‘झ्यालबाहिर हेर्न’ आग्रह गरे। उनका अनुसार चीनमा यात्राका क्रममा हेर्न र अनुभव गर्न धेरै कुरा छन्।
मस्कले विशेष रूपमा सियानस्थित टेराकोटा वारियर्सको चर्चा गरे। प्रथम छिन सम्राटको समाधिस्थल परिसरमा रहेका हजारौँ जीवन्त आकारका माटाका सैनिक तथा घोडाका मूर्तिहरूलाई उनले विश्वकै आश्चर्यमध्ये एकका रूपमा उल्लेख गरे। यो ऐतिहासिक स्थल युनेस्कोको विश्व सम्पदा सूचीमा समेत रहेको छ।
यति मात्र होइन, मस्कले चीनको औद्योगिक क्षमता, उत्पादन क्षेत्र र प्रविधिगत प्रगतिप्रति पनि प्रशंसा व्यक्त गर्दै आएका छन्। चीनमा टेस्लाको सांघाई गिगाफ्याक्ट्री सञ्चालनमा रहेको सन्दर्भमा उनको यस्तो प्रशंसाले आर्थिक तथा प्रविधि क्षेत्रमा पनि चासो खिचेको छ।
मस्कको पछिल्लो भनाइ भने उनको व्यावसायिक चासोभन्दा बाहिर चीनको पर्यटन अनुभवमा केन्द्रित देखिन्छ। उनले चीनको विशालता र विविधता प्रत्यक्ष अनुभव नगरी केवल शब्द वा तस्बिरबाट बुझ्न कठिन हुने संकेत गर्दै यात्रुलाई मोबाइलको स्क्रिनभन्दा बाहिरको वास्तविक चीन हेर्न सुझाएका छन्।
मस्कको सन्देशको सार—चीन पुग्दा मोबाइलमा होइन, झ्यालबाहिर हेर्नुस्; किनकि त्यहाँ ‘हेर्नका लागि धेरै कुरा’ छन्।