रोम । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विद्यालयमा बुर्का र नकाब प्रतिबन्ध गर्ने तथा एउटै कक्षामा विदेशी विद्यार्थीको संख्या कानुनी रूपमा सीमित गर्ने नयाँ व्यवस्था ल्याउने घोषणा गरेकी छन्। आइतबार, सेप्टेम्बर २० मा आफ्नै दल ‘ब्रदर्स अफ इटाली’को युवा संगठनको कार्यक्रममा बोल्दै मेलोनीले विद्यालयमा एकीकरण, इटालियन भाषा सिकाइ र अनुशासनलाई केन्द्रमा राखेर नयाँ कानुनी व्यवस्था अघि बढाउने बताएकी हुन्।
प्रस्तावित व्यवस्थाअनुसार विद्यालयमा पूरै अनुहार छोप्ने बुर्का र नकाब लगाउन रोक लगाइनेछ। मेलोनीले विद्यालयमा विद्यार्थीको अनुहार खुला हुनुपर्ने बताएकी छन्। यद्यपि, उपलब्ध विवरणअनुसार कपाल र घाँटी मात्र छोप्ने सामान्य हिजाबलाई यो प्रतिबन्धमा समेटिएको छैन।
त्यस्तै, सरकारले प्रत्येक कक्षामा विदेशी विद्यार्थीको अधिकतम संख्या तोक्ने व्यवस्था पनि कानुनमार्फत लागू गर्ने तयारी गरेको छ। तर यसको निश्चित प्रतिशत अझै सार्वजनिक गरिएको छैन। यसअघि इटालीमा विदेशी विद्यार्थीको संख्या कक्षामा ३० प्रतिशतसम्म सीमित गर्ने व्यवस्था रहेको भए पनि स्थानीय जनसांख्यिक अवस्था र व्यवहारिक कठिनाइका कारण त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको विद्यालय प्रशासनसम्बन्धी अधिकारीहरूले बताएका छन्।
मेलोनीको प्रस्तावमा भाषा सिकाइलाई पनि विशेष स्थान दिइएको छ। विद्यालयमा गम्भीर रूपमा घुलमिल हुन वा अध्ययन अघि बढाउन कठिनाइ भोगिरहेका विदेशी विद्यार्थीका अभिभावकलाई इटालियन भाषा सिक्न अनिवार्य गराउने व्यवस्था ल्याउने उनको घोषणा छ। सरकारको तर्कअनुसार भाषा दक्षता बढेमा विद्यार्थीको शैक्षिक तथा सामाजिक एकीकरण सहज हुने अपेक्षा गरिएको छ।
मेलोनीले आफ्ना प्रस्तावको बचाउ गर्दै इटालियन विद्यालयका कक्षामा इटालियन भाषा नबोल्ने विद्यार्थीको संख्या अत्यधिक हुँदा अध्ययन वातावरण र एकीकरणमा समस्या उत्पन्न हुन सक्ने बताएकी छन्। उनले इटालियन विद्यार्थी आफ्नै कक्षामा अल्पसंख्यक भएको महसुस गर्ने अवस्था स्वीकार्य नहुने धारणा व्यक्त गरेकी छन्।
यद्यपि, प्रस्तावित विदेशी विद्यार्थी सीमाको व्यावहारिक कार्यान्वयनबारे प्रश्नसमेत उठेका छन्। इटालीको राष्ट्रिय विद्यालय प्रधानाध्यापक संघका अध्यक्ष एन्टोनेलो जियानेल्लीले केही अवस्थामा यस्तो सीमा शैक्षिक दृष्टिले विचार गर्न सकिने भए पनि कुनै क्षेत्रमा विदेशी परिवारको संख्या नै धेरै भए विद्यालयले विद्यार्थीलाई कहाँ पठाउने भन्ने व्यवहारिक समस्या आउने बताएका छन्।
अब प्रस्तावित व्यवस्था मन्त्रिपरिषद्मा प्रस्तुत हुने र त्यसपछि कानुनी प्रक्रियाअनुसार अघि बढ्नेछ। यसले इटालीमा आप्रवासन, भाषा, सांस्कृतिक एकीकरण र विद्यालयमा धार्मिक पहिचानसम्बन्धी बहसलाई फेरि तीव्र बनाउने देखिएको छ। विशेषगरी बुर्का–नकाब प्रतिबन्ध र कक्षामा विदेशी विद्यार्थीको सीमासम्बन्धी प्रस्तावले इटालीको विद्यालय नीतिमा ठूलो परिवर्तनको संकेत दिएको छ।