वासिङ्टन । इरानसँगको युद्ध अमेरिकाका लागि सैन्य मोर्चामा मात्रै होइन, आर्थिक रूपमा पनि महँगो बन्दै गएको छ। अमेरिकी सेन्ट्रल कमान्डको नयाँ मूल्यांकनअनुसार सेप्टेम्बर ३, २०२६ सम्म इरान युद्धमा अमेरिकाको प्रत्यक्ष सैन्य लागत ४३.६ अर्ब अमेरिकी डलर पुगेको छ। यो यसअघि सार्वजनिक गरिएको अनुमानभन्दा उल्लेख्य रूपमा बढी हो।

पेन्टागनले अमेरिकी कांग्रेसलाई दिएको विवरणअनुसार उक्त रकममध्ये २८.१ अर्ब डलर युद्धमा प्रयोग भइसकेका बम, मिसाइल तथा अन्य सैन्य सामग्री पुनःपूर्ति गर्न, ११.२ अर्ब डलर सैन्य अभियान सञ्चालनका अतिरिक्त खर्चमा र ४.३ अर्ब डलर युद्धका क्रममा क्षतिग्रस्त वा नष्ट भएका सैन्य उपकरण प्रतिस्थापनमा लाग्ने अनुमान गरिएको छ।

यसको अर्थ अमेरिकाले अहिलेसम्मको युद्ध खर्चको ठूलो हिस्सा प्रत्यक्ष सैन्य अभियानमा भन्दा हथियारको खपत र पुनःपूर्तिमै बेहोर्नुपरेको देखिन्छ। न्यूयोर्क टाइम्सका अनुसार मात्रै प्रयोग भइसकेका युद्धसामग्रीको प्रतिस्थापन लागत २८.१ अर्ब डलर पुगेको छ, जसले केही महत्वपूर्ण हतियारको अमेरिकी भण्डारमा दबाब बढाएको छ।

तर ४३.६ अर्ब डलरलाई युद्धको पूर्ण लागत भने मानिएको छैन। इरानी आक्रमणबाट मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार तथा पूर्वाधारमा भएको क्षतिको मर्मत वा पुनर्निर्माण खर्च यसमा समावेश छैन। त्यस्ता संरचना पुनर्निर्माण गर्नुपरेमा थप दशौँ अर्ब डलर खर्च हुन सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।

युद्ध लम्बिँदै जाँदा भविष्यको खर्च पनि बढ्ने संकेत देखिएको छ। अमेरिकी अमेरिकी कंग्रेसको बजेट कार्यालय (सीबीओ) ले अगस्ट १ सम्म युद्धको लागत करिब ३८ अर्ब डलर पुगेको आकलन गर्दै युद्धको तीव्रता कायम रहेमा प्रत्येक महिना थप २ देखि ३ अर्ब डलर खर्च हुन सक्ने जनाएको छ। हिंसा थप बढेमा मासिक खर्च योभन्दा पनि माथि जान सक्ने सीबीओको चेतावनी छ।

युद्धको अर्को ठूलो असर अमेरिकाको मिसाइल र हवाई प्रतिरक्षा प्रणालीको भण्डारमा परेको छ। सीबीओका अनुसार ठूलो संख्यामा मिसाइल प्रतिरोधी इन्टरसेप्टर प्रयोग भएकाले अमेरिकी भण्डार केही वर्षसम्म घटेको अवस्थामा रहन सक्छ। विशेषगरी अर्को ठूलो सैन्य संकट उत्पन्न भएमा यस्तो कमी रणनीतिक चुनौती बन्न सक्ने सीबीओले उल्लेख गरेको छ।

त्यसैगरी, युद्धले अमेरिकाको अर्थतन्त्रमा पनि दबाब थपिरहेको छ। होर्मुज जलडमरूमध्य हुँदै तेल तथा ग्यास आपूर्तिमा आएको अवरोध र क्षेत्रीय ढुवानीमा परेको असरले मुद्रास्फीतिको दबाब बढाउन सक्ने सीबीओको विश्लेषण छ।

यसबीच, सेप्टेम्बर ३ पछिको अतिरिक्त इन्धन खर्च जोड्दा युद्धको कुल रकम ४५.१ अर्ब डलरसम्म पुगेको हुन सक्ने सीएनएनले स्रोत उद्धृत गर्दै जनाएको छ। यद्यपि यो रकम पनि पूर्ण हिसाब नभएको बताइएको छ।

इरान युद्धको मूल्य अहिले सार्वजनिक भएको ४३.६ अर्ब डलरको अंकमै सीमित देखिँदैन। हतियार पुनःपूर्ति, क्षतिग्रस्त सैन्य संरचनाको पुनर्निर्माण, भविष्यको सैन्य सञ्चालन, मुद्रास्फीति तथा दीर्घकालीन दिग्गज सैनिकसम्बन्धी खर्च जोडिँदै जाँदा वास्तविक आर्थिक बोझ अझ बढ्न सक्ने देखिन्छ। युद्धको मैदानमा खर्च भएको प्रत्येक मिसाइलको मूल्य अब अमेरिकी बजेट र सैन्य भण्डार दुवैतर्फ देखिन थालेको छ।