जिल्ला अदालत बाजुराको फैसलाप्रति चेतनदीप अयडीको परिवारले असन्तुष्टि प्रकट गरेको छ ।

२०७९ मंसिर ४ गते बाजुराको कैलाशमाडौँमा अनेरास्ववियुका नेता चेतनको निहत्था अवस्थामा एक्लै बसिरेको ठाउँमा २४ जनाभन्दा बढीको हुल गएर क्रूरतापूर्वक गरिएको हत्यामा जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले बिहीबार ६ जनालाई कर्तव्य ज्यान कसुरमा दोषी ठहर गरी १८ जनालाई सफाइ दिएको थियो ।

ती ६ जना अभियुक्तका हकमा पनि मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम आजन्म कैद सजाय गर्न माग गरिएको भए पनि अदालतले सामान्य जन्मकैद (२५ वर्ष) को सजाय मात्रै हुने ठहर गरेको छ ।

चेतनका बुवा गगनले फैसला अन्यायपूर्ण भन्दै पुनरावेदनमा जान माग गरेका छन् ।

चेतनका बुवा गगन अयडीको भनाइ यस्तो छ-
मेरो छोरा चेतनदीप अयडीको निहत्था अवस्थामा एक्लै बसिरेको ठाउँमा २४ जनाभन्दा बढीको हुल गएर क्रूरतापूर्वक गरिएको हत्यामा जिल्ला अदालत बाजुराबाट जम्मा ६ जनालाई मात्र कर्तव्य ज्यान कसुरमा दोषी ठहर गरिएको छ । त्यो पनि कसुरको मात्रा घटाएर । घटनामा प्रत्यक्ष संलग्न देखिएका र आदेश निर्देश गरेका बाँकी १८ जनालाई पूर्णरुपमा उन्मुक्ति दिइएको छ । भिडियो लगायत प्रत्यक्ष प्रमाण र स्वयं अभियुक्तहरुले एकअर्कालाई पोलेर गरेको बयानको समेत अनदेखा गरी गरिएको फैसला हामीलाई स्वीकार्य छैन । न्यायालय र कानुनी प्रक्रियाप्रति हाम्रो आस्था र सम्मान हुँदाहुँदै पनि अपराधीलाई उन्मुक्ति दिने, घटनालाई राजनीतिक आवरणमा सामान्यीकरण गरी दण्डहीनतालाई प्रश्रय दिने कुराका विरुद्धमा हामी अन्तिमसम्मै लड्नेछौँ । यो मेरो एक जना छोरा मारिएको घटना भएर मात्र होइन । आज हामीलाई परेको छ, भोलि अर्कोलाई पर्न सक्नेछ । त्यसैले न्यायका लागि सबै उपाय र विकल्पका साथ एक मुठी श्वास रहेसम्म संघर्ष गरिरहनेछौँ । मैले व्यक्तिगत रुपमा बेहोर्नुपर्ने क्षति बेहोरिसकेको छु । अब मेरा लागि होइन, मानवताका लागि लड्नेछु । सभ्य समाज र प्रणालीका लागि लड्नेछु । समाजमा अपराधीको राज हुन दिइने छैन ।

जिल्ला अदालतको अन्यायपूर्ण फैसलाका विरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने नै छौँ । साथसाथै कानुनी रुपमा उपलब्ध सबै विकल्पमा जानेछौँ । यो लडाइँमा साथ दिनुहुने सबैप्रति आभारी छु र आगामी दिनमा पनि तपाईँहरुको साथ सहयोग निरन्तर रहने अपेक्षा पनि गर्दछु ।