बाजुरा । करिब चार वर्षअघि भएको चेतनदीप अयडी हत्याकाण्डमा बाजुरा जिल्ला अदालतले ६ जनालाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। अदालतले मुद्दामा प्रतिवादी बनाइएका बाँकी १८ जनालाई भने सफाइ दिएको छ।

जन्मकैदको सजाय पाउनेमा धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडी छन्। उनीहरू यसअघि नै थुनामा रहेका थिए।

अदालतले पदम अयडीलाई समेत थुनामुक्त गर्न आदेश दिएको छ।

सफाइ पाउनेमा मंगल भन्ने मदनबहादुर अयडी, निरजबहादुर अयडी, नरबहादुर अयडी, उद्धवबहादुर अयडी, रतनबहादुर अयडी, अनिता रौले अयडी, मोहनबहादुर अयडी, नवीनबहादुर अयडी, ईश्वरीदेवी अयडी, धनादेवी अयडी, नरेशबहादुर अयडी, भूपाल अयडी, चक्र अयडी, रुपा चौधरी अयडी, जुद्ध अयडी, रनसिंहबहादुर अयडी र विनोद अयडी छन्।

२०७९ मंसिर ४ गते निर्वाचनका दिन बाजुरामा एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीलाई घरमै गएर कुटपिट गरी हत्या गरिएको घटनाले त्यतिबेला देशभर चर्चा पाएको थियो। लामो कानुनी प्रक्रियापछि जिल्ला अदालतले आज फैसला सुनाएको हो।

फैसलाअघि बुधबार र बिहीबार लगातार दुई दिन बहस भएको थियो। मृतकका बुवा तथा जाहेरवाला गगन अयडीका तर्फबाट सरकारी वकिलसँगै वरिष्ठ अधिवक्ताहरू राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट जगत बमलगायत कानुन व्यवसायीले प्रतिरक्षा गरेका थिए।