रियाद । यमनका हुथी विद्रोहीले मक्कातर्फ पठाएको भनिएको ड्रोन साउदी अरबको हवाई प्रतिरक्षाले खसालेपछि मध्यपूर्वको तनाव थप चर्किएको छ। साउदी अधिकारीहरूका अनुसार ड्रोन मंगलबार साँझ करिब ६:५० बजे मक्काको दक्षिणतर्फ प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै नष्ट गरिएको हो।
घटनापछि साउदी नेतृत्वको गठबन्धनले मक्का र मदिनासहितका दुई पवित्र मस्जिद तथा तीर्थयात्रीको सुरक्षा ‘रेड लाइन’ भएको चेतावनी दिएको छ। गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले साउदीको सार्वभौमिकता र पवित्र स्थलको सुरक्षामाथि खतरा आए आवश्यक र प्रतिरोधात्मक कदम चालिने बताएका छन्।
हुथीहरूले मक्कालाई निशाना बनाएको आरोप अस्वीकार गरेका छन्। हुथी प्रवक्ता याह्या सारीले साउदीको दाबीलाई अस्वीकार गर्दै आफूहरूले मक्का वा कुनै इस्लामिक पवित्र स्थललाई निशाना नबनाएको बताएका छन्।
यो घटना त्यतिबेला भएको हो, जब यमनमा हुथी र साउदी समर्थित शक्तिबीचको संघर्ष फेरि तीव्र बनेको छ। पछिल्ला दिनमा हुथीहरूले साउदीका सैन्य तथा रणनीतिक संरचनामाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण बढाएका छन्। साउदीको पूर्व–पश्चिम तेल पाइपलाइनमा भएको आक्रमणपछि तेल आपूर्तिमाथि समेत दबाब बढेको छ र अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेल प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।
यसबीच हुथीहरूले लाल सागरको रणनीतिक बाब अल–मन्देब क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेका छन्। यसले विश्वव्यापी तेल तथा समुद्री व्यापारमाथि थप जोखिम बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
मक्कानजिक ड्रोन खसालिएको घटनाले भने युद्धलाई अझ संवेदनशील मोडमा पुर्याएको छ। साउदीका लागि यो सुरक्षा चुनौती मात्र होइन, विश्वभरका मुस्लिमका लागि पवित्र मानिने स्थलको सुरक्षासँग जोडिएको छ।