१. हवाई खोज तथा उद्धार कार्य:
- नेपाली सेनाद्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र २६ गतेको १७:३० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ३० जनाको उद्धार गरिएको र हालसम्म हवाई साधनमार्फत ४,१३७ जना (स्वदेशी ३,८५४ र विदेशी २८३) को उद्धार गरिएको छ।
२. टनेलमा खोज तथा उद्धार कार्य:
- रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट रियक्सन टिम तथा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीबाट खोजी कार्य भइरहेको छ।
- लाङटाङ हाइड्रोमा नेपाली सेनाको टोलीले टनेलभित्र खोजी कार्य गरिरहेको छ।
- चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले टनेल भित्रको लेदो फाल्ने कार्य गरिरहेको छ। हेभी एकुइपमेन्ट लैजानका लागि टनेलसम्म बाटो निर्माण कार्य सम्पन्न गरी थप खोजी कार्यलाई तीव्र पारिएको छ।
- लाङटाङ माथिल्लो त्रिशुली १ हाकुबेशीस्थित अडिट वान टनेलमा नेपाली सेनाको टोलीले टनेलको २०० मिटर आसपासको इलाकामा ड्रोन मार्फत रेकी गरी खोजी कार्य गरिरहेकोमा हालसम्म केही फेला नपरेको छ।
- त्रिशूली ३ ए को पावरहाउस तथा टनेल इलाकामा संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ।
- त्रिशूली ३ बी मा संयुक्त टोलीबाट खोजी कार्य भइरहेको छ।
३. जमिनी खोज तथा उद्धार र राहत:
- प्रभावित क्षेत्रका रसुवा र नुवाकोट जिल्लाका त्रिशुली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्गलगायत विभिन्न स्थानहरूमा पैदल गस्ती गरी खोजी कार्य भइरहेको छ।
- स्याफ्रुबेसी होल्डिङ्ग सेन्टरमा बाढी प्रभावितहरूलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ५४ जना लाभान्वित भएका छन्।
- नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज ८५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म जम्मा ३,६६५ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्।
- रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेका छन्।