अगस्ट २६ तारिख बिहान करिब १०:३० बजे सिचाङ (तिब्बत) को शिगात्से शहरस्थित केरोङ नाका क्षेत्रमा गएको पहिरोमा ठूलो जनधनको क्षति भएको तथा केही व्यक्ति बेपत्ता रहेको खबर प्राप्त भएको छ।
घटनाप्रति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले गम्भीर ध्यानाकर्षण जनाउँदै उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले बेपत्ता व्यक्तिको खोजीलाई तीव्र बनाउन, जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न, घाइतेहरूको प्रभावकारी उपचार गर्न तथा मानवीय क्षति न्यूनतम बनाउन निर्देशन दिनुभएको छ।
राष्ट्राध्यक्ष सीले पूर्वसूचना प्रणाली र विपद् निगरानीलाई थप सुदृढ गर्दै वैज्ञानिक र व्यवस्थित ढंगबाट उद्धार कार्य सञ्चालन गर्न तथा सम्भावित थप विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि जोड दिनुभएको छ।
हाल चीनमा बाढी नियन्त्रणको संवेदनशील अवधि चलिरहेको उल्लेख गर्दै उहाँले सम्बन्धित सबै क्षेत्र तथा निकायलाई बाढी र आँधीबेहरीबाट उत्पन्न हुन सक्ने जोखिम तथा सम्भावित खतराको व्यापक निरीक्षण गर्न र ठूला विपत्ति रोक्न आवश्यक सबै उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। साथै, जनताको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्न उहाँले आग्रह गर्नुभएको छ।
यसैगरी, चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङले पनि घटनाप्रति तत्काल प्रतिक्रिया जनाउँदै बेपत्ता व्यक्तिको यकिन विवरण सार्वजनिक गर्न, उपलब्ध सम्पूर्ण स्रोत र जनशक्ति परिचालन गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। उहाँले उद्धार कार्य वैज्ञानिक र सुरक्षित ढंगले सञ्चालन गर्न तथा सम्भावित पछिल्ला विपत्तिबाट थप क्षति हुन नदिन आवश्यक तयारी गर्न पनि निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री लीले परराष्ट्र मन्त्रालयलाई सम्बन्धित देशहरूसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा आवश्यक सहकार्य गर्न तथा राष्ट्रिय बाढी नियन्त्रण कार्यालय र विपत्ति न्यूनीकरण कार्यालयलाई देशभर सम्भावित जोखिमको निरीक्षण तथा मूल्याङ्कन गर्न निर्देशन दिनुभएको छ।
राष्ट्राध्यक्ष सीको निर्देशन तथा प्रधानमन्त्री लीको आग्रहअनुसार, राज्य परिषद्का उपप्रधानमन्त्री चाङ कुवो छिङ सम्बन्धित विभागका अधिकारीसहित घटनास्थल पुगेर उद्धार तथा राहत कार्यको प्रत्यक्ष निरीक्षणमा जुट्नुभएको छ।
उता, सिचाङ (तिब्बत) को स्थानीय सरकारले पनि उपलब्ध सम्पूर्ण जनशक्ति तथा स्रोतसाधन परिचालन गरी घटनास्थलमा बेपत्ताको खोजी, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ। स्थानीय प्रशासनका अनुसार उद्धार तथा राहतसँग सम्बन्धित कार्यहरू हाल व्यवस्थित रूपमा अघि बढिरहेका छन्।