युक्रेन युद्धमैदानमा रुसले मानिसको प्रत्यक्ष निर्देशन बिना नै स्वतन्त्र रूपमा लक्ष्य पहिचान गरी हमला गर्ने पूर्ण स्वायत्त ‘किलर’ एआई ड्रोनहरू तैनाथ गरेको पुष्टि भएको छ। युक्रेनी सैन्य अधिकारीहरू तथा रक्षा गुप्तचर निकायले खसालिएका ड्रोनहरूको भग्नावशेष परीक्षण गरेपछि यो खतरनाक प्रविधिको प्रयोग प्रमाणित गरेका हुन्। एआई-संचालित यस स्वायत्त हतियारको आक्रमणबाट पहिलोपटक सर्वसाधारणको ज्यान गएको घटना दर्ता भएसँगै युद्धमा मेसिनले मानिसको ज्यान लिने निर्णय गर्ने घातक युगको सुरुवात भएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा गम्भीर चिन्ता व्यक्त गरिएको छ।
खसालिएका ड्रोनका भग्नावशेष अध्ययन गर्दा ती हतियारहरूमा अमेरिकाको प्रख्यात प्रविधि कम्पनी एनभिडिया (NVIDIA) को ‘जेट्सन ओरिन’ नामक मिनीकम्प्युटर प्रयोग गरिएको भेटिएको छ। सामान्यतया एनभिडियाले यी चिपहरू रोबोटिक्स र स्वचालित मेसिन नियन्त्रणका लागि सर्वसाधारण विकासकर्ता तथा स्टार्टअपहरूका लागि बजारमा बिक्री गर्ने गर्दछ।
यो माइक्रोप्रोसेसर प्रतिसेकेन्ड ६७ ट्रिलियन अपरेसन (67 TOPS) सञ्चालन गर्न सक्षम छ। यस उच्च प्रशोधन क्षमताका कारण ड्रोनले उडानकै क्रममा रियल-टाइम थर्मल इमेजिङ, वस्तुको पहिचान र भू-दृश्यका आधारमा स्वचालित नेभिगेसन गर्न सक्छ। यी ड्रोनहरूमा कुनै बाह्य सञ्चार एन्टेना जडान गरिएको छैन। यसको अर्थ ड्रोन उडान भरेपछि यसलाई टाढाबाट कुनै पाइलट वा अपरेटरले नियन्त्रण गरिरहनु पर्दैन।
प्रणालीले आफैं भू-उपग्रह समन्वय ट्र्याक गर्दै सञ्चार अवरोध लाई निष्प्रभावी बनाउँछ र पूर्व-स्थापना गरिएको भिजुअल डेटाबेससँग लक्ष्य मिलाएर हमला गर्दछ। यो स्वायत्त प्रविधिलाई रुसले आफ्ना नयाँ ‘शाहेद-एमएस००१’, ‘भी२यू’ लोटरिङ मुनिसन तथा ‘ल्यान्सेट’अट्याक ड्रोनका नयाँ भेरियन्टहरूमा एकीकृत गरेको पाइएको छ।
अमेरिकी सरकारले रुसी सैन्य आपूर्ति सञ्जाललाई ध्वस्त पार्न कडा निर्यात नियन्त्रण लागू गरे तापनि रुसले अवैध तरिकाले करिब १ करोड ७० लाख अमेरिकी डलर बराबरका एनभिडिया कम्पोनेन्टहरू भित्र्याउन सफल भएको अनुसन्धानले उजागर गरेको छ। हङकङ, सिङ्गापुर, टर्की र चीन जस्ता तेस्रो देशका ‘ग्रे-मार्केट’ ट्रान्सशिपमेन्ट हबहरूमार्फत यी संवेदनशील प्रविधिहरू रुसी हातमा पुगेका हुन्।
यसबाहेक, ड्रोनभित्र प्रयोग गरिएका मुख्य सर्किट बोर्डहरूमा “मेड इन चाइना” छापिएको भेटिएको छ। एआई प्रणालीलाई रियल-टाइम दृश्य ट्र्याकिङ डेटा उपलब्ध गराउन चिनियाँ अप्टिकल इमेजिङ क्यामेराको प्रयोग गरिएको छ। यता एनभिडियाका प्रवक्ताले ‘जेट्सन मोड्युल’ साधारण उपभोक्ता र अनुसन्धानकर्ताका लागि उपलब्ध गराइने उत्पादन भएको स्पष्ट पार्दै कम्पनीले रुसलाई प्रत्यक्ष रूपमा कुनै सामान नबेचेको बताएका छन्। साथै, अमेरिकी निर्यात कानून उल्लंघन गरी सेकेन्डरी मार्केटमा सामान पठाउने वितरकहरूलाई कालोसूचीमा राखिने प्रतिबद्धता एनभिडियाले जनाएको छ।
स्वायत्त एआई ड्रोनको बढ्दो खतरालाई रोक्न युक्रेनले युद्धमैदान र शहरी क्षेत्रमा व्यापक काउन्टर-मेजर लागू गरेको छ। युक्रेनी सेनाले शहरका संवेदनशील सडक र पूर्वाधार माथि करिब २४० माइल (३८६ किमी) भन्दा लामो एन्टी-ड्रोन नेट जडान गरेको छ।
यसैगरी, ग्यास स्टेशन, इन्धन र प्रोपेन ट्याङ्क जस्ता उच्च प्राथमिकताका लक्ष्यहरूलाई भारी कपडा वा त्रिपालले ढाकेर एआईको इमेजरी एल्गोरिदमलाई भ्रमित पार्ने रणनीति अपनाइएको छ। साथै, युक्रेनले स्वायत्त ‘किलर’ ड्रोनहरू लक्ष्यमा ठोक्किनुअघि नै तिनलाई हावामै खसाल्न विशेष पाइलटहरूद्वारा सञ्चालित ‘इन्टरसेप्टर ड्रोन’ को तैनाथी बढाएको छ।
मानव नियन्त्रण बिना मेसिनले नै आक्रमण र ज्यान लिने निर्णय गर्ने यो प्रविधिले अन्तर्राष्ट्रिय मानवीय कानून र युद्धको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ।