काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले देशमा विद्यमान अस्तव्यस्त राज्यप्रणाली र जनताले भोग्नुपरेको सास्तीको अन्त्यका लागि आफ्नो पार्टी अब स्पष्ट कार्यदिशाका साथ अघि बढ्ने बताएका छन्। लोकतन्त्र टाइम्ससँगको कुराकानीमा सांसद न्यौपानेले विगतका विकृति र असक्षम प्रणालीको निरन्तरताका कारण नागरिकले अझै पनि ग्यास, खानेपानी, अस्पताल र सडकमा सास्ती खेप्नुपरेको दाबी गरे।
उनले सर्वसाधारणले लाइन बस्नुपर्ने बाध्यता र पुराना कमजोरीलाई सुधार गर्न ९० दिनको अनुभवले महत्त्वपूर्ण पाठ सिकाएको उल्लेख गर्दै अनलाइन प्रणालीमार्फत नागरिकलाई सहज सेवा दिने दिशामा काम गर्नुपर्नेमा जोड दिए। “ग्यासको लाइन होस् वा अन्य सेवा, पुरानो प्रणालीको निरन्तरताले गर्दा नै नागरिकले सास्ती पाउनुपरेको हो,” न्यौपानेले भने, “कसले गर्यो भन्दा पनि हिजोदेखिको थिति र संरचना कस्तो थियो भन्ने कुरा मुख्य हो। अब प्रविधिको प्रयोग गरी अनलाइनमार्फत नागरिकलाई सेवा सुविधा उपलब्ध गराउने गरी काम गर्नुपर्छ।”
सांसद न्यौपानेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अब परिपक्व ढंगले काम गर्ने चरणमा प्रवेश गरेको छ। “हरेक राजनीतिक दल वा प्रणालीको परीक्षणको कालखण्ड तब सुरु हुन्छ, जब उसले म्याच्योर (परिपक्व) भएर काम गर्ने अवसर प्राप्त गर्छ,” उनले थपे, “अब साच्चिकै राष्ट्रिय स्वतन्त्र पार्टीको परीक्षणको कालखण्ड सुरु हुँदैछ।”
पत्रकारले गृहमन्त्री, उद्योगमन्त्री तथा पार्टीका अन्य नेताहरूको कार्यक्षमता र नागरिकका अपेक्षाबारे प्रश्न गर्दा न्यौपानेले व्यक्तिविशेषभन्दा पनि पार्टीगत नीति र प्रणालीगत सुधार महत्त्वपूर्ण हुने स्पष्ट पारे। रास्वपाभित्र सक्षम, योग्य र क्षमतावान् व्यक्तित्वहरू रहेको दाबी गर्दै उनले पार्टीको महाधिवेशन र नयाँ केन्द्रीय समितिमार्फत बनेको नीतिले सरकारलाई सही दिशा निर्देश गर्ने बताए।
“पार्टीले देशका समस्या र नागरिकका सास्तीलाई गम्भीरतापूर्वक हेरिरहेको छ,” न्यौपानेले भने, “केन्द्रीय कमिटीको बैठक र महाधिवेशनबाट पार्टी नयाँ स्वरूपमा परिणत भएको छ। अब पार्टीले सरकारलाई स्पष्ट दिशा दिनेछ र सरकार सोही दिशामा अघि बढेर जनताका सबै समस्याको समाधान निकाल्नेछ।”